इटहरीःपौष २७ गते इटहरीमा पृथ्वीनारायाण शाहको जन्मोत्सव मनाईने भएको छ । २०६९ सालदेखि इटहरीमा प्रत्येक बर्ष एकीकरण दिवस मनाइँदै आएको छ ।

गत वर्ष झैँ यो वर्ष पनि एकीकरण दिवस मनाउन लागिएको बुधबार इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । राष्ट्रिय एकीकरण दिवस २०७५ का संयोजक सुबर्ण बहादुर थापाले विं सं.१७७९ मा पृथ्वीनारायण साह नजन्मिएको भए आफूहरु रहने तर नेपाल नामको देश नरहने ठोकुवा गरे । उनले भने, ‘पृथ्वीनारायण नभएको भए हामी हुन्थ्यौँ, तर नेपाली हुँदैनथ्यौँ, बिशुद्ध सांस्कृतिक र इतिहाँसलाई सम्झाइरहने भएकाले यो दिवस मनाउँन लागिएको हो ।’

कार्यक्रममा राष्ट्रिय एकीकरण दिवस कार्यक्रमका संस्थापक संयोजक प्रा.डा बद्री बिशाल पोखरेलले जाती, धर्म भन्दा माथि संस्कृति भएकाले संस्कृति जोगाउनका लागि उक्त कार्यक्रमको आयोजना गर्दै आएको बताए । उनका अनुसार नेपाल देश कस्ले नामाकरण गरेको भन्ने जानकारी गराउन कार्यक्रम आयोजना गरेको हो । ‘नयाँ पुस्तालाई पृथ्वीनारायणको योगदान बिर्सन नदिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ,’ उनले भने, ‘पृथ्वीनारायणले नेपालीको भाग्य निर्धारण गरेकाले उनलाई बिर्सन हुँदैन ।’

नागरिक समाजका अगुवा कमलेश पौडेलले पृथ्वीनारायणले आफ्नो स्वार्थका लागि नभई नेपाल र नेपालीका लागि एकीकरण गरेको बताउँदै भने,‘सरकारले काम गरेन भनेर हामीले पनि नगर्ने भन्ने कुरा हुँदैन, समाजले पृथ्वीनारायणको वास्तविक अवस्था थाहा पाउनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ ।’ एउटै मान्छेले मात्रै सबै कुरा गर्न नसक्ने र प्रत्येक मान्छेले आफ्नो ठाउँबाट सकेको काम समाजमा गर्नुपर्ने बताउँदै भने, ‘हामीले यो अभियान मात्रै चलाएका हौँ, परिवर्तन भन्ने कुरा रातारात हुने कुरा होइन ।’

कार्यक्रमका सचिव राम खड्काका अनुसार नेपाल नामाकरण गर्ने व्यक्तिलाई सम्मान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको हो । ‘कुनै राजाको जन्मजयन्ती मनाएको होइन, जसले नेपाल एकीकरण गर्यो उसैलाई सम्मान गरेका हौ,’उनले भने । स्कूल स्तरीय र कलेज स्तरीय बक्तित्वकला प्रतियोगीताको आयोजना गरिने उनले जानकारी गराए । सोही कार्यक्रमको अवसर पारेर प्रा.डा सुरेन्द्र केसी र डा. राजेश अहिराजले बहस समेत गर्ने जनाइएको छ ।