काठमाण्डौँ : नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’ले स्वदेश तथा विदेशमा शाखा विस्तार गरेको छ ।

कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले जिल्लास्तरसम्म शाखा विस्तार गर्ने उद्देश्यसाथ प्रतिष्ठानले अहिले सात प्रदेशमा शाखा विस्तार गरिसकेको बताउनुभयो ।
केन्द्रमा नौ सदस्यीय र प्रदेश तथा जिल्लामा १३ सदस्यीय कार्यसमिति विस्तार हुने प्रतिष्ठानले प्रदेश–१ मा इन्दिरा थापा, प्रदेश–२ मा डा सुवासचन्द्र यादव, प्रदेश–३ मा रीता खनाल, गण्डकी प्रदेशमा शारदा पौडेल, प्रदेश–५ मा डा गोविन्दराज पोखरेल, कर्णाली प्रदेशमा रीता शाही र सुदूरपश्चिम प्रदेशमा चतुरबहादुर चन्दलाई संयोजक तोकेको छ । प्रदेश नं १ को विराटनगरमा कार्यालयसमेत स्थापना भइसकेको छ ।
अमेरिकामा सोमनाथ घिमिरे, मकाउ, हङकङलगायत एशियाली मुलुकका लागि सुदर्शन थापामगर, युएईका लागि चित्रा केसी र युरोपेली मुलुकका लागि सीता सापकोटालाई संयोजक तोकिएको प्रतिष्ठानले जनाएको छ ।