धरान:दशै तिहारको समयमा धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा लगाउने भनिएको रमाइलो मेलामा दुई समुहबीच भएको झडप हुदा हुलदंगा गरेको आरोपमा पक्राउ परेका श्री सुब्बा सोमबार छुटेका छन् ।
संघीय समाजवादी फोरमको भातृ संगठन संघीय युवाको जिल्ला अध्यक्ष रहेका सुब्बा १८ दिनपछि छुटेका हुन् । अभद्र व्यवहारसम्बन्धी मुद्दा लागेका सुब्बा सोमबार जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारीले १५ हजार धरौटीमा रिहा गरेका हुन् । ‘जिल्ला प्रशासनले १५ हजार धरौटी राखेर रिहाई गर्यो,’फोरमका सुनसरी जिल्ला उपाध्यक्ष ताजुब लिम्बूले जानकारी दिदै भने ।
सुब्बालाई पुष १२ गते प्रहरीले धरानबाट पक्राउ गरेका थिए । उनीविरुद्ध मेला आयोजना पक्षधरका युवाहरुले मेलाको स्टलमा ढुंगामुढा गरी अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए । विगतमा सार्वजनिक अपराधको मुद्दालाई नयाँ मुलुकी ऐनले अभद्र व्यवहार भनि परिभाषा गरेको छ । गत कार्तिक पहिलो साता धरानमा आयोजना भएको मेलामा मेला पक्षधर र विरोधी समुहबीच दोहोरो झडप भएको थियो । त्यसक्रममा केही युवाहरु घाइते पनि भएका थिए । सो घटनापछि मेला पक्षधर र मेला आयोजक पक्षले एकअर्काविरुद्ध उजुरी दिएका थिए । त्यसपछि दुवै समुहका युवाहरु प्रहरी लिष्टमा फरार थिए ।
केही दिनअघि मेला विरोधी संयुक्त संघर्ष समितिले एक विज्ञप्ती निकालेर सुब्बालाई रिहाई गर्नुपर्ने र ज्यान मुद्दामा उजुरी परेको मेला आयोजना पक्षधरलाई पनि पक्राउ गर्नुपर्ने माग गरेका थिए । करिब १० दिनअघि प्रहरीले मेला आयोजकका एक युवालाई पनि पक्राउ गरेको छ । मेलाको लफडामा अझै पनि केही युवाहरु फरार नै छन् ।