इनरुवा: सुनसरीको सदरमुकाम इनरुवामा एक मात्रै सिनेमा हल रहेपनि दर्शक नपाएर बन्द हुन पुगेको छ ।

कमल टाकिजका नाममा रहेको सिनेमा घर पछिल्लो केही महिनायता इनरुवाका युवाहरुले सञ्चालन गर्दै आएका थिए । मासिक ६० हजार भाडा बुझाउने गरी हल सञ्चालन जिम्मा लिएका युवाहले खर्च धान्नै नसकेपछि बन्द हुन पुगेको हो । सिनेमा हलमा पुगेर चलचित्र हेर्ने दर्शकको संख्या अपेक्षा भन्दा ज्यादै न्युन हुन पुगेपछि सञ्चालन खर्च धान्न नसकेको भन्दै सिनेमाको प्रर्दशन हुन छोडेपछि हल बन्द हुन पुगेको हो ।

भाडामा हल सञ्चालन गर्दै आएका मध्येका एक केशव वस्तीका अनुसार हलमा आउने दर्शक ज्यादै न्युन भएपछि बन्द गर्नुपर्ने बाध्यता भएको बताए । अचेल जस्तो सुकै चलचित्रले दर्शकलाई आकर्षित गर्न नसकेको कारण हल बन्द हुनुको प्रमुख कारण भएको उनले बताए । 'पछिल्लो समय आश गरिएका फिलिम फ्लप भयो, अपैक्षा अनुसार फिल्म चलेन र दर्शक हलसम्म पुगेनन् । खर्च छान्ननै मुस्किल भएपछि तत्कालका लागि हल बन्द गर्ने निर्णय गर्यौ,'वस्तीले भने ।

इनरुवामा सिनेमा हाल पूनः सञ्चालनमा आउछ कि आउदैन भन्ने अन्यौल कायम छ । दर्शक अभावलाई कारण देखाएर हल बन्द गरिएको बताइए पनि सञ्चालकबीचमा मनमुटाव भएको कारण पनि हल बन्द हुन पुगेको अनुमान गरिएको छ । सुचना र प्रविधिको तीब्र विकाससँगै पछिल्लो समय सिनेमा हेर्न हल जाने दर्शकहरुमा कमी आउदै गएको छ । मनोरञ्जनका अन्य विविधि साधनहरुको कारणले पनि मानिसहरु हल पुग्न छोडेका छन् । सिमित चलचित्रबाहेक अधिकांश फिल्म दर्शकको अपेक्षा अनुसार नहुने र फ्लप हुने भएकोले पनि दर्शकहरु सिनेमा हल जान छोडेका छन् ।