धरान: एन–प्याब्सन सुनसरीले १३ औं सँस्करणको ‘क्याच देम यङ स्पोर्टस मिट’ आगामी फागुन पहिलो सातादेखि सुरु गर्ने भएको छ ।

एन प्याब्सनले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि सुरु हुने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल र मिनी म्याराथुन खेल खेलाइने जानकारी दिएको छ । उद्घाटनमा १० किमि म्याराथुन दौड हुने कार्यक्रम संयोजक पुष्प अधिकारीले बताए । उनका अनुसार म्याराथुनमा प्रत्येक विद्यालयबाट ४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यावस्था छ । भलिबल छात्र र छात्रालाई दुवैमा स्पर्धा हुनेछ भने फुटबल प्राथमिक तहको लागि मात्र खेलाइने एन प्याब्सनले जनाएको छ । बास्केटबलमा छात्रतर्फ निमावि र छात्रामा मावि तहलाई खेलाइने छ ।

प्रतियोगिताको विजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । स्पोर्टस् मिटमा जिल्लाभरीका ४० भन्दा बढी विद्यालयको सहभागिता रहने जनाइएको छ । विद्यार्थीहरुको क्षमता, नेतृत्व विकासको लागि र विद्यार्थीहरुको खेल क्षमताको पहिचान गर्नको लागि स्पोर्टस मिट गदै आएको एन–प्याव्सन, सुनसरी अध्यक्ष गणेश राईले बताए । ‘बाल्यकालमा नै बालिबालिहरुको कुन खेलमा चाहाना छ ? क्षमता कस्तो छ ? त्यो चिन्नु पर्र्छ, अनि त्यसैमा उसलाई सिकाउदै क्षमता निखार्नुपर्छ,’अध्यक्ष राईले भने ।