मेक्सिकोका कुख्यात लागूऔषध तस्कर अल च्यापो गुजम्यान विभिन्न आरोपमा दोषी ठहर भएका छन् ।
अमेरिकाको न्यूयोर्क्स्थित एक संघीय अदालतले गुजम्यानलाई १० विभिन्न आरोपमा दोषी ठहर गरेको हो । ६१ वर्षीय गुजम्यानले अवैध लागूऔषध कोकिन र हेरोइनको तस्करी गरेको, अवैधरुपमा हतियार राखेको र मुद्रा अपचलन गरेकोलगायतका आरोपमा दोषी ठहर गरिएको हो ।
उनलाई दिइने सजाय भने सुनाउन बाँकी छ । अदालतले सजाय सुनाएपछि उनको पुरै जिन्दगी जेलमै बित्न सक्ने छ । अल च्यापोले मेस्सिकोको जेलमा सुरुङ बनाएर भागेपछि सन् २०१६ को जनवरीमा गिरफ्तार गरिएको थियो ।
उनलाई २०१७ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनीमाथि अमेरिकामा लागूऔषध तस्करी गर्ने गरेको आरोप लागेको थियो । उनी अमेरिकामा लागूऔषध भित्र्याउने सबैभन्दा ठूला व्यक्ति भएको मानिएको छ ।
अदालतले ११ हप्तासम्म विभिन्न पक्षको बहस सुनेपछि गुजम्यानलाई दोषी ठहर गरेको हो । १९५७ मा एक किसान परिवारमा जन्मिएका गुजम्यान अफिम र गाँजा खेतीमा काम गर्दै आएका थिए ।
उनले त्यहिँबाट लागूऔषध तस्करी गर्न थालेको बताइएको छ । उनको समूह अमेरिकामा लागूऔषध तस्करी गर्ने सबैभन्दा ठूलो समूह भएको मानिएको छ ।
सन् २००९ मा अमेरिकी फोब्र्स पत्रिकाले विश्वका धनीको सूचीमा उनको नाम ७ सय १ नम्बरमा राखेको थियो ।
त्यस बेला उनको कुल सम्पत्ति करिब १ बिलियन डलर रहेको बताइएको छ ।