धरान: एक समय थियो, एमालेका नेताहरु जनयुद्ध शब्द सुन्नै चाहदैन थिए भने सशस्त्र जनयुद्ध लडेर आएको माओवादी नेताहरु एमालेलाई नक्कली कम्युनिष्ट भन्थे । भनिन्छ नि, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुदैनन् ।

अहिले नेपालमा यस्तै राजनीतिक परिघटना सृर्जना भएको छ । कम्युनिष्ट भएर पनि एकअर्काको उछितो काड्ने माओवादी र एमालेबीच गएको प्रदेश र संघको निर्वाचनमा सहकार्य मात्र भएन, दुई पार्टीबीच एकता प्रक्रिया नै शुरु भइसकेको छ । नेकपा नामकरण भएको नयाँ पार्टीले केन्द्रिस्तरमा र प्रदेशस्तरमा पार्टी एकीकरण टुंग्याएको छ भने जिल्ला र स्थानीयस्तरमा मात्र एकीकरण हुन बाँकी रहेकोले साविक एमाले र साविक माओवादीको अस्तित्व रहेको छ ।

हिजो जनयुद्धको नामै सुन्न नचाहने साविक एमाले नेताहरुसमेत मिलेर आज देशभर २४ औं जनयुद्ध दिवस मनाए । माओवादी सशस्त्र युद्ध २०५२ फागुन १ गतेबाट शुरु भएको थियो । माओवादी पार्टीले फागुन १ लाई जनयुद्ध दिवसकोरुपमा मनाउदै आएको छ । पार्टी एकीकरण भएपछिको पहिलो जनयुद्ध दिवस आज हो । त्यसैले आज जनयुद्ध दिवसमा साविक माओवादी नेता, कार्यकर्ताहरु मात्र थिएनन्, साविक एमाले नेता, कार्यकर्ताहरु पनि सहभागी थिए । ‘हामीले अन्य कार्यक्रमहरु सँगसँगै गर्दै आएका थियौ, जनयुद्ध दिवस चै पहिलो पटक सँगै मनाएका हौ,’साविक एमाले जिल्ला संयोजक रमेश बस्नेतले भने,‘एकता र संघर्षको बीचमा एकताले जित्यो, र हामी सँगै छौ ।’

IMG_20190213_094240

धरानको भानुचोकमा पनि नेकपा(साविक एमाले र साविक माओवादी)ले जनयुद्ध दिवस मनाएको थियो । वाइसिएलको ब्यानरमा आयोजित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम पनि भयो । नेकपाका नेता एवं प्रदेश १ इञ्चार्ज भीम आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । नेता आचार्यले नेपाली वामपन्थी आन्दोलनको इतिहासमा फागुन १ गते महत्वपुर्ण दिन भएको बताए ।

नेपालमा परिवर्तन, राजनीतिक चेतना र गणतन्त्र ल्याउन २०५२ फागुन १ गतेको महत्वपुर्ण भुमिका रहेको नेता आचार्यको भनाई थियो । ‘हजारौंले जनयुद्धको क्रममा आफ्नो ज्यानको वलिदान दिनुभएको छ, ती महान् शहिदहरुकै सपनालाई साकार बनाउन हामी कम्युनिष्टहरु एक भएका छौ । मुलुक समृद्ध बनाउन जुटेका छौ,’उनले भने,‘एउटै कार्यदिशा र एउटै वामपन्थी पार्टी बनेर जनताको उद्देश्य पुरा गर्न अघ बढेका छौ ।’