धरान: अत्यधिक मदिरा सेवन गरेर चलाएको गाडी दुर्घटना गराएपछि पक्राउ परेका धरानका श्री सुब्बालाई प्रहरी सवारी अंगभंगअन्र्तगत मुद्दा दर्ता गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार आइतबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप भएको हो । शनिबार मध्यरातमा धरान १५ स्थित बगरकोटमा सुब्बाले चलाएको कार र मोटरसाइकल जुध्दा २ जना गम्भीर घाइते भएका थिए । ‘सवारी अंगभंगमा आजै म्याद थप भएको छ, ७ दिनको म्याद थप भयो,’डिएसपी तिम्सिनाले भने । पक्राउ परेका सुब्बा संघीय युवा फोरमका सुनसरी जिल्ला अध्यक्ष हुन् ।
शनिबार राती करिब साढे ११ बजे धरान १५ स्थित बगरकोटमा सुब्बाले चलाएको बा ७ प ७६३१ नम्बरको कार र को ९ प १०२९ नम्बरको मोटरसाइकल जुधेको थियो । ठक्करबाट मोटरसाइकलमा रहेका धरान ५ देउरालीका गौरव राजधामी र धरान १५ का रोहित राई गम्भीर घाइते छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते राजधामीको तीघ्रा भाँचिएको छ । यस्तै, राईको हत्केला खुस्किएको र छातीमा पनि चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा सुब्बाले अत्यधिक मदिरा सेवा गरेर कार चलाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई घटनास्थलबाट नै पक्राउ गरेको थियो । सुब्बा बेला बेला विभिन्न विवाद र चर्चामा आइरहन्छन् । उनलाई प्रहरीले गुण्डागर्दीको सुचीमा राखेर उच्च निगरानी पनि गरिरहेको जनाएको छ । ‘हाम्रो निगरानीमा नै भएको व्यक्ति हो,’डिएसपी तिम्सिनाले भने । उनी यसअघि गत पुष दोस्रो साता पनि पक्राउ परेका थिए । विवादित रमाइलो मेलामा ढुंगामुढा गरेको उजुरीको आरोपमा समातिएका उनी १८ दिनपछि धरौटीमा रिहा भएका थिए ।




































































