धरान: मार्च ८ अर्थात १०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस आउन अझै केही दिन बाँकी छ । तर, आइतबार धरानका महिलाहरु भने समान काम गरेवापत पुरुष बराबर नै ज्याला पाउनुपर्ने भन्दै बहसमा उत्रिए ।

सुनसरी उद्योग वाणिज्य संघको हलमा धरानका विभिन्न १४ वटा वडाबाट आएका महिलाहरुले समान काम समान ज्याला बिषयको वतृत्वकला प्रतियोगितामा भाग लिएका थिए । महिला सञ्जाल धरानले श्रमिक महिला दिवसको सन्दर्भ पारेर यो कार्यक्रम आयोजना गरेको थियो । समुदायस्तरका वक्ता महिलाहरुले पुरुष सरह नै काम गरेपनि ज्याला(पारिश्रमिक)मा भने महिलाहरु ठगिदै आएको भन्दै चर्को असन्तुष्टी जनाए । साथै, उनीहरुले समान कामको समान ज्याला पाउने वातावरण तयार गर्ने जिम्मेवारी अब राज्य र जनप्रतिनिधिहरुको काँधमा आएको पनि धारणा राखेका थिए । यस्तै, कतिपय वक्ता महिलाहरुले समान व्यवहार घरभित्रैबाट शुरुवात गर्नुपर्ने भन्दै यसमा महिलाहरुकै पनि जिम्मेवारी रहेको बताएका थिए ।

तालिम लिएका महिलाहरुलाई अवसर

IMG_2026

स्थानीय तह र वडा तहमा जनप्रतिनिधिको नेतृत्व आएपछि लक्षित वर्गको बजेटबाट महिलाहरुको क्षमता विकास सम्बन्धी थुप्रै तालिमहरु आयोजना भएकोले ती महिलाहरुलाई वत्तृत्वकलाको अवसर प्रदान गरिएको सञ्जालकी अध्यक्ष सविता राईले बताइन् । ‘लक्षित वर्गको बजेटले वडाहरुमा क्षमता विकासको थुप्रै तालिमहरु भएको छ । महिलाहरुले नेतृत्व विकास, वतृत्वकला, भाषण र उद्घोषणाकला जस्ता तालिमहरु लिएका छन्,’अध्यक्ष राईले भनिन्,‘त्यसैले श्रमिक महिला दिवसको सन्दर्भ पारेर ती महिलाहरुलाई सिकेको कुरा प्रस्तुत गर्ने अवसर दिएका हौ ।’

वत्तृत्वकला प्रतियोगितामा प्र्रत्येक वडाबाट २ जना महिलाको दरले सहभागी पठाउन वडा कार्यालयलाई आग्रह गरिए पनि कतिपय वडाबाट भने सहभागी नभएको आयोजक सञ्जालले जनाएको छ । सञ्जालकी सचिव कोपिला भटराईका अनुसार वडा १, २, ५,९, १० र २० बाट कोही पनि महिलाहरु सहभागी भएनन् । ‘अन्य १४ वटा वडाबाट २३ जना महिलाहरु सहभागी भए, अरु वडाबाट किन भएनन् भनेर विचार गर्नुपर्छ, किनभने लक्षित वर्गको बजेटबाट क्षमता विकासको तालिमहरु भइरहेको छ,’सचिव भटराईले भनिन् ।

प्रतियोगिताको विजेताहरुको नाम भने आइतबार घोषणा गरिएन । फागुन २४ गते ८ मार्चको अवसरमा भानुचोकमा आयोजना हुने भव्य समारोहमा नै नाम घोषणा गरेर पुरस्कृत गरिने वरिष्ठ उपाध्यक्ष चेतना सेरेङले जानकारी दिइन् । ‘हाम्रो कार्यक्रमको मुख्य उद्देश्य महिलाहरुको क्षमता अभिवृद्धि, अवसर प्रदान गर्ने हो, विजेताहरुको नाम ८ मार्चको कार्यक्रममा घोषणा गछौ,’उनले भनिन् । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः५ हजार, ३ हजार, २ हजार र एक हजार पुरस्कार दिने आयोजकले जनाएको छ । वतृत्वकाला प्रतियोगितामा प्राध्यापक डाक्टरद्धय राजेन्द्र शर्मा, रमेश घिमिरे र महिला विकास अधिकृत राजकुमारी राई निर्णायक थिए ।

समान ज्यालाको कार्यविधि बनाइने

ganesh-khatiwada1
धरान उपमहानगरपालिकाले समान कामको समान ज्यालाको निम्ति कार्यविधि बनाउने बताएको छ । वतृत्वकला प्रतियोगितामा मन्तव्य राख्दै उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले सरोकारवाला संघसंस्थाहरुसँग सहकार्य गरेर कार्यविधि बनाउने बताए ।

खतिवडाका अनुसार समान कामको समान ज्यालाबारे अभियान चलाउन आवश्यक बजेट पनि विनियोजन भएको छ । ‘अभियान चलाउने भनेर हामीसँग बजेट छ, समान कामको समान ज्यालाको लागि कार्यविधि बनाउदैछौ, महिला सञ्जालसँग सहकार्य गछौ,’खतिवडाले भने,‘यो बिषय समय सान्दर्भिक छ । कानुन विभेदकारी छैन, तर व्यवहार विभेदकारी भयो । हाम्रो व्यवहारलाई सुधार्न सबै लाग्नुपर्छ ।’