धरान: धनकुटाको चौविसे गाउँपालिका–२ लाप्चेटारकी २४ वर्षिया सुजता विक लिम्बु भारतको पटनाबाट घर फर्कदै थिइन् । श्रीमान् र २ बच्चासहित आज बिहान विराटनगर आइपुगे पछि मात्र थाह भयो, बिहिबार नेपाल बन्द रहेछ ।
उनीहरुले विराटनगरबाट प्रतिव्यक्ति १ सय ५० रुपैया तिरेर टेम्पोमा धरानसम्म आए । त्यसपछि, उनीहरुको यात्रा धरानमै टुंगियो । महंगो भाडा तिरेर टेम्पोमा धरानसम्म आइपुगेका उनीहरु विचल्ली परे । नेत्रबिक्रम चन्द विप्लवको देशव्यापी हडतालका कारण बिहिबार लामो दुरीका सवारीसाधनहरु चलेनन् । त्यसको मार आम सर्वसाधारणहरुले खेप्नु पर्यो । अत्यावश्यक सेवा, केही तीन पांग्रेबाहेक यातायातका साधनहरु बिहिबार ठप्प भयो । ‘पटनाबाट विहान ६ बजे विराटनगर आइपुग्यौ, अनि पो बन्द भन्ने थाह भयो,’सुजताले भनिन्,‘एक जनाको डेढ सय तिरेर टेम्पोमा धरानसम्म १० बजे आइपुग्यौ, तर यताबाट पनि गाडी चलेन, विजोग भयो ।’
सुजताले दिनभर काखे बालकसहित दुई बच्च च्यापेर समय कटाइन् । उनलाई सानो बच्चासँग दिनभर गाडी चल्ने आशामा समय बिताउन निक्कै गाह्रो थियो । उनलाई त कस्को बन्द हो भन्नेसम्म पनि थाह थिएन । ‘सानो बच्चासँग छु, कति गाह्रो छ नि, बेलुकी गाडी खुलेपछि घर जाने,’उनले पीडा पोखिन् । उनीहरु पटनामा कुखुरा फर्ममा अण्डा टिप्ने काम गर्थे । साहुसँग घर आउन पारिश्रमीक माग्दा पनि नपाएको गुनासो पोखिन् । बाटोमा आउदा गाडीवालालाई ५ सय रुपैयाँको भारु नोट दिए पनि सयको नोट दिएको भन्दै जिद्दी गरेपछि छोड्नु परेको थियो । ‘दुःखै दुःख भोग्दै नेपाल आइपुग्यौ, तर यहाँ पनि बन्दले झनै दुःख दियो,’उनले भनिन् ।

सुजता जस्तै विचल्लीमा थिइन्, धनकुटा बजारकी ३० वर्षिया रिया राई । बन्द कस्को हो भन्ने उनलाई पनि थाह थिएन । एक सातादेखि एलर्जीको कारणले विरामी परेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थिइन् उनी । आज विहानमात्र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किन लाग्दा बन्द भएर विचल्लीमा परिन् । ‘बन्द कस्को हो थाहा भएन, तर भानुचोक आएपछि बन्द भन्ने थाह भयो,’उनले भनिन्,‘७ दिन अस्पतालमा बसेर आज मात्र डिस्चार्ज भएको थिए ।’
उनीहरुत आजको बन्दको प्रतिनिधि पात्रमात्र हुन् । उनीहरु जस्तै धेरैले बन्दमा यस्तै सास्ती खेप्नुपर्यो । धरानबाट चल्ने लामो दुरीका यातायातका साधन ठप्प बन्यो । नगर क्षेत्रभित्र टेम्पो भने निर्वाध सञ्ञ्चालन भएको थियो । धरानमा विचल्लीमा परेका यात्रुहरु मोटरसाइलबाट पनि आ–आफ्नो गन्तव्यतर्फ जाने प्रयास गरेका थिए, कतिलाई मोटरसाइकल चालकले लगेका पनि थिए । आज बन्दमा सागसब्जी बोक्ने गाडी, विवाहको गाडी, एम्बुलेन्स भने निर्वाध सञ्चालन भएको थियो ।
धरानका अर्धिकास पसलहरु खुलेपनि शैक्षिक संस्था, बैंकहरु ठप्प बन्यो । धरानबाट पहाडी र तराईका रुटमा चल्ने यातायातका साधन बन्द भए । धनकुटाबाट पनि यातायातका साधन ठप्प भएको नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लले धनुकटाबाट फोन सम्पर्कमा बताए । ‘यहाँ पनि लामो दुरीका यातायातका साधन चलेको छैन, ठप्प जस्तै छ,’धनकुटामा रहेका उनले मोवाइ सम्पर्कमा भने । कपिलबस्तुमा ‘विप्लव’को नेतालाई हतिारसहित पक्राउ गरेको र गोली हानेको भन्दै त्यसको विरोधमा हाज बन्दको आब्हन गरेको थियो । सरकारले दुई दिन अघि मात्र विप्लव समुहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।


































































