बेलायती प्रधानमन्त्री टेरिजा मे ले युरोपेली युनियन (ईयु)बाट बाहिरिने प्रक्रिया केही लम्ब्याउन युरोपेली युनियनलाई आग्रह गरेकी छन् ।

युरोपेली युनियनबाट बेलायतलाई अलग्याउने प्रक्रिया दुई वर्षसम्म ढिलाइ हुनसक्ने भन्दै प्रधानमन्त्री मे ले प्रक्रिया लम्ब्याउन आग्रह गरेको बेलायती उच्चस्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बेलायतले यही मार्च २९ बाट ईयु छोड्ने प्रक्रिया सुरु गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर बेलायती संसद्ले प्रधानमन्त्री मे को प्रस्ताव पटकपटक अस्वीकार गर्दा प्रक्रियामा ढिलाइ हुँदै आएको छ ।
प्रधानमन्त्री मे ले ब्रेक्जिटको कार्ययोजना प्रस्ताव संसद्बाट पारित गराउन यसै हप्ता पुनः प्रयास गर्ने र त्यो सफल हुने विश्वास लिएकी छन् । उनले बेलायतले मागे अनुसारको समय दिन ईयु तयार हुने विश्वाससमेत व्यक्त गरेकी छन् ।

आगामी जुन ३० सम्म आफूले मागेको समय दिन युरोपेली युनियन तयार भए पनि विकल्पका रुपमा थप समय माग गर्ने उनले बताइन ।
उता, युरोपियन युनियनका समन्वयकर्ता मिचेल बार्नियरले भने कुनै ठोस कार्ययोजनाविनै बेलायत ब्रेक्जिटबाट बाहिरिने प्रक्रियामा ढिलाई गर्न नसकिने स्पष्ट पारेका छन् । यसैबीच जर्मन चान्सलर एङ्गेला मर्केलले तर्कसंगत ब्रेक्जिटका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएकी छन् ।