धरान:होली पर्व मनाउने क्रममा बिहिबार धरानमा छुरा हानी हत्या भएको घटनामा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिबार दिउँसो करिब साढे ४ बजे भानुचोकस्थित कन्सर्ट सकेर फर्कने क्रममा धरान ९ आचार्यलाइनमा धरान ८, सिद्धार्थ मार्गका २० बर्षीय निमा तामाङलाई छुरा प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । साथै, निमाको साथी धरान ८ का १७ बर्षीय मिलन बिकमाथि पनि छुरा प्रहार भएपनि उनी सामान्य घाइते भएका थिए । प्रहरीले घटना भएकै साँझ २ जनालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न ४ जनालाई नै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार विगतको झगडाको रिसइबीमा निमा माथि छुरा प्रहार भएको थियो । उनको हत्यामा संलग्न धरान ८ का १८ बर्षीय सुसान्त लिम्बु, १७ बर्षीय निश्चल बिक, १८ बर्षीय शरण राई र धरान ७ स्थित पानवारी बस स्टेण्डका १८ बर्षीय मनिष लावती लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्नहरु चारै जनामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

फाइल तस्बिर:वीपी प्रतिष्ठानमा उपचाररत घाइते मिलन बिक ।