आफूविरुद्ध लगातार प्रदर्शन चर्कदै गएपछि अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् । उनीविरुद्ध कयौं सातादेखि अल्जेरियामा प्रदर्शन भइरहेको थियो ।
२० बर्षदेखि अल्जेरियाको सत्ता सम्हाल्दै आएका बुतेफ्लीकाले यसपटकको निर्वाचन नलड्ने घोषणा गरेका थिए । उनले यही अप्रिल २८ मा आफ्नो कार्यकाल समाप्त भएपछि पद छोड्ने घोषणा पनि गरेका थिए ।
तर प्रदर्शनकारीहरुले पद छोड्न राष्ट्रपतिले गरेको प्रतिबद्धतालाई विश्वास गर्न नसकिने भन्दै तत्काल राजीनामा दिन माग गरिरहेका थिए । यसअघि अल्जेरिया सेना प्रमुखले पनि बुतेफ्लीका सत्ता सम्हाल्न अयोग्य रहेकाले तत्काल पदबाट हट्नु पर्ने बताएका थिए ।
प्रदर्शनकारीहरुले देशको राजनीतिक ढाँचामा भूलभूत बदलावको माग गरेका छन् । सत्ताधारी नेसनल लिब्रेसन फ्रन्टले सुधारको मुद्दामा राष्ट्रिय सम्मेलन बोलाउने निर्णय गरेको छ । यसअघि बुतेफ्लीकाले आफ्नो उम्मेदवारी रद्द गर्दै यसै महिना हुने निर्वाचनलाई टार्नु भएको थियो । नयाँ निर्वाचनको मितिबारे निर्णय लिन बाँकी छ ।