ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “क्यानडाको नक्कली भिषा देखाएर डेढ करोड ठगी” शीर्षकको समाचार छापिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन्, कोही आफन्तबाटै ठगिन्छन्, अनि कोही भने आखाँ चिम्लेर कसैलाई विश्वास गर्दा फस्छन् । वैदेसिक रोजगारसम्बन्धि पर्याप्त जनचेतनाको अभावमा सयौँ नेपालीको लाखौँ रुपैँया डुबेको छ । सरकारले एजेण्टको व्यवस्था खारेज गरेपनि अझैँ पनि गाउँगाउँमा दलालको बिगबिगी छ । पत्र नम्बर १ः सुनसरी रामधुनी गाउँका अधिकांश युवाहरु विदेशिए । सबै सहपाठीले विदेशबाट महिनैपिच्छे पैसा पठाएको देखेपछि धर्मेन्द्रमा पनि विदेशको हुटहुटी चल्यो । अनि चिनेजानेकै मान्छेको सहारामा क्यानडा जाने पासपोर्ट र भिषा देखेपछि विदेशिने योजना बनाए । तर उनको योजना दलालहरुको कारण एकाएक तुहियो । विदेश जानु त कता हो कता, एजेण्टलाई दिएको ५ लाख असुल्न पनि मुस्किल परेको छ । आजित भएपछि धर्मेन्द्रले आफ्नो डुबेको पैसा उठ्ने आशामा श्रम कार्यालय विराटनगरमा उजुरी गरे तर अहिलेसम्म ठग पक्राउ नपर्दा उनलाई पीडामाथि पीडा थपिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रहरी चौकीको बिजुली बन्द” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिकाको १२ नम्बर वडा कार्यालयले विधुत काटेपछि प्रहरी चौकी बखरीमा विधुत आपूर्ति बन्द भएको छ । वडा कार्यालयमा काम गर्न भोल्टेज अपुग भएको भन्दै विधुत आपूर्ति बन्द गरेपछि प्रहरी चौकी बखरी गत शनिबारदेखि विधुतविहीन भएको हो । वडाध्यक्ष हीरालाल कामतको निर्देशनमा चौकीको विधुत् आपूर्ति बन्द गरिएको बताइएको छ । स्थापनाकालदेखि नै सो चौकीलाई वडा समितिको कार्यालयले आवश्यक विधुत् उपलब्ध गराउँदै आएको थियो । तर बिना सूचना एक्कासी विधुत् काटिएपछि चौकीको अन्धकार बनेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “धनकुटामा नेकपाको स्थानीय तह टुंगियो” शीर्षकको समाचार छापिएको छ । नेकपाले धनकुटाको सबै स्थानीय तह र वडामा पार्टी संगठनको एकीकरण टुंग्याएको छ । ७ वटा स्थानीय तहमध्ये ५ वटामा पूर्व एमाले र २ वटामा पूर्व माओवादीले नेतृत्व पाएको छ । ६० वटा वडामध्ये पूर्व एमालेले ३७ वटा र पूर्व माओवादीले २४ वटा वडामा नेतृत्व पाएका छन् ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “कोइला आयातमा कमी भएसंगै राजस्व असुलीमा समेत गिरावट” शीर्षकको समाचार छापिएको छ । भारतको मेघालयको उच्च अदालतले गरेको निर्णयको असर नेपालको अर्थतन्त्रमा परेको छ । अदालतले कोईला उत्खनन्मा रोक लगाएपछि त्यहाँबाट गरिने कोइलाको आयातमा कमी हुँदा नेपाली अर्थतन्त्रमा असर परेको हो । पूर्वी नाकाबाट कोइलाको आयात कमी भएपछि १ नम्बर प्रदेशकै राजस्व संकलनमा अग्रणी मेची भन्सार कार्यालय काकाडभिट्टाको राजस्व असुलीमा भारी गिरावट आएको छ । पेट्रोलियम पदार्थ र कोइला आयातमा कमी आएपछि राजस्वको लक्ष्य पुर्याउन पनि कार्यालयलाई हम्मे हम्मे पर्ने गर्दछ ।