ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “शिक्षकले विद्यार्थी कुटे” शीर्षकको समाचार छापिएको छ । सुनसरीको रामधुनी नगरपालिका ३ स्थित कान्छीचोकमा रहेको चिल्ड्रेन ड्रिमल्याण्ड मन्टेश्वरी स्कुलका एक शिक्षकले ८ वर्षीय बालकलाई गालामा छाप बस्ने गरी कुटेका छन् । कक्षा ४ मा अध्ययनरत साव्रिकबहादुर सिंहलाई गालामा सुन्निने गरी विज्ञान विषयका शिक्षक सन्तोष श्रेष्ठले कुटेका हुन् । उनको गालामा ५ औलाको छाप बसेको छ । शुक्रबार स्कुल विदा भएपछि ती बालक रुदैँ घर पुगेका थिए । हेर्दा गालामा छाप बसेको पाइएको बालकका हजुरआमा मञ्जु निरौलाले बताइन ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “ऐतिहासिक दरबारका बहुमूल्य सामग्री हराउँदै” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सुनसरीको बराहक्षेत्र १ चावाचामा पने ऐतिहासिक पुरातात्विक दरबारक्षेत्र संरक्षण हुन नसक्दा त्यहाँका पुरातात्विक सामग्री दिनदिनै हराउन थालेका छन् । स्थानीय तह, पुरातत्व विभागले चासो नदिँदा भग्नावशेषका बहुमूल्य पुराना सामग्रीहरु हराउन थालेको स्थानीय बूढापाकाहरुले बताएका छन् । जङ्गलको बीचमा रहेको दरबारको भग्नावशेष कसको हो भनेर हालसम्म पहिचान हुन सकेको छैन । पहिचान हुन नसकेपछि भौतिकरुपमा कम्तिमा चारसय वर्षदेखि पाँचसयवर्ष पुरानो पुरातात्विक क्षेत्र भएको अनुमान गरिएको छ । पुरातत्व ििवभागले समेत हालसम्म आधिकारिक रुपमा अध्ययन, अनुसन्धान र उयत्खनन् गर्न चासो देखाएको छैन । बराहक्षेत्र नगरपालिकाको जलकन्या सामुदायिक वन क्षेत्रभित्र रहेको भग्नावेशेषमा १३ औँ शताव्दीको इँटा, प्रस्तरका कला, पहिचान गर्न नसकिएको तामाका सिक्का, तामा पगालेका धाउ, पर्खाल, हात्ती बाँध्ने साङ्ला, शिवका मूर्ति, प्वाँलोका माला, यत्रतत्र भेटिने गरेका छन् । 

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बलात्कार आरोपमा प्रहरी पक्राउ” शीर्षकको समाचार छापिएको छ । मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको शसस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन् । सुनसरीकै बर्जु गाउँपालिका वडा नं.५ घर भएका ३५ वर्षीय सहिंसा चौधरी पक्राउ परेका हुन् । उनीवीरुद्ध जबरजस्ती करणी गरेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय इटहरीमा परेपछि जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाइले जनाए । उनका अनुसार पक्राउ परेका चौधरीको अनुसन्धान थालिएको छ । घटनाक्रम अनुसार, इटहरी वडा नं.१२ मा डेरा गरी बस्ने ३० वर्षीय विवाहीत महिला साथीसँग तीन दिनअघि सोनापुरमा लाग्ने मेलामा गइन् । दुवै महिला अरिहन्त जुट मिलमा कार्यरत रहेकाले गर्दा बजार जाँदा होस् वा अन्य कुनै काम पर्दा प्रायः संगै हिडडुल गर्ने गर्थे । दुवै जना महिला एउटै घरमा अलग–अलग डेरा लिएर बस्छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “चैते धानमा आकर्षण घट्दै” शीर्षकको समाचार छापिएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले यस वर्ष चैते धानको प्रवद्र्धनको लागि २ सय ५० हेक्टर क्षेत्रफलमा कार्यक्रम राखेको थियो । तर जम्मा ८ हेक्टर क्षेत्रफलको कार्यक्रम मात्र सञ्चालन भएको छ । यो तथ्याङ्कबाट धनकुटामा चैते धानप्रति किसानको उत्साह भने वर्षेनी घट्दो छ भनेर अनुमान गर्न गाह्रो हुन्न । चैते धान प्रवद्र्धनको लागि ल्याइएका कार्यक्रममा समेत किसानको आकर्षण हुन सकेको छैन ।