धरान : अमेरिका र चीनबीचको जारी व्यापार युद्धको असर अब मोबाइल बजारमा पनि देखिने भएको छ ।
गुगलले चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेसँगको व्यापारलाई सीमित पार्दै आफ्ना केही सेवाबाट उक्त कम्पनीलाई बञ्चित पार्ने भएको छ । हुवावेका फोनहरुमा अब गुगलका केही लोकप्रिय एपहरु उपलब्ध हुने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि गुगलले यस्तो कदम चालेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेलाई कालोसूचीमा राख्ने घोषणा गरेका थिए । साथै अनुमति विना उक्त कम्पनीलाई कुनै पनि प्रविधि नबेच्न अमेरिकी कम्पनीलाई सचेत गराइएको थियो ।
गुगलका प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्दै चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेसँगको व्यापार सीमित पार्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । समाचार संस्था रोयटर्सले हुवावेलाई कस्ता सुविधाबाट बञ्चित गर्ने भन्नेबारे गुगल अहिले पनि छलफलकै क्रममा रहेको जनाएको छ ।
हुवावेका स्मार्ट फोनहरु अहिले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छन् । तर, उक्त कम्पनीका फोनहरु आफ्नै स्वामित् भएका प्रोसेसरबाट सञ्चालिन हुँदैछन् । हुवावेका एक वरिष्ठ अधिकारीले अघिल्लो वर्ष कम्पनीले अब आफ्नै अपरेटिङ सिस्टम विकास गर्ने पनि घोषणा गरेका थिए । समाचार संस्था रोयटर्सका अनुसार गुगलका प्रवक्ताले हुवावको फोनमा गुगल प्ले स्टोर र सेक्युरिटी प्रोटेक्सन भने उपलब्ध हुने बताएका छन् ।
यद्यपि अब उत्पादन हुने हुवावेका स्मार्टफोनले गुगलको लोकप्रिय उत्पादन जीमेल र युट्युब उपलब्ध नहुने रोयटर्सले लेखेको छ ।