धरान: डेंगु रोगको प्रकोप फैलिएको मौका छोपेर पुर्वका विभिन्न निजी अस्पताल तथा मेडिकलहरुले डेंगु टेष्ट किटमा ब्रह्मलुट मच्चाइरहेका छन् ।
करिब ४ सय पर्ने किटलाई परीक्षणको नाममा निजी अस्पताल, मेडिकल हलहरुले १८ सयदेखि २४ सय रुपैयासम्म शुल्क असुल गरिरहेको पाइएको छ । डेंगु परीक्षणको नाममा कालोबजारी भइरहेको बारेमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय पनि जानकार छ । मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै टेष्ट किटको पर्ने मुल्यभन्दा बढी रकम लिएको पाइएमा कालोबजारीको कसुरमा कारबाही गर्ने जनाएको छ भने सुपथ मुल्यमा टेष्ट किट उपलब्ध गराउन पनि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइएको छ ।
यो ब्रह्मलुटमा बिपी प्रतिष्ठानका डाक्टरहरुको पनि सेटिङ भएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । एक विरामीले डेंगु परीक्षण गर्दा कुल ३६ सय तिरेको विलसहित गोपी योगीले आफ्नो फेसबुक पोष्टमा खुल्लमखुला लुट भइरहेको लेखेका छन् । उक्त विलमा डेंगु सेरोलोजी ३ पटकको २१ सय रुपैया लिइएको छ । साथै योगीले विरामीको डेंगु टेष्टमा कति खर्च लाग्ने हो ? भन्ने प्रश्न गर्दै लुटमा धरानबासी रमिते हुनुपरेको पनि बताएका छन् ।
कारबाही गर्न निर्देशन
यसैबीच, आइतबार बेलुकी संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सरोजकुमार यादव डेंगु प्रकोपको अवस्था बुझ्न धरान आएका थिए । उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुसँग भेट गरेका थिए भने राती करिब १० बजेसम्म छलफल गरेका थिए । उक्त बैठकमा पनि डेंगु किटको कालोबजारी भइरहेको जानकारी पाएपछि राज्यमन्त्री यादवले त्यस्तो संस्थालाई कारबाही गर्न बैठकमा सहभागी सिडिओ प्रेमप्रकाश उप्रेती र प्रदेश स्वास्थ्य निर्देशनालय भोगेन्द्र डोटेललाई निर्देशन दिएका थिए । राज्यमन्त्री यादवले कपुरीन्यूजसँग भने,‘कसले त्यस्तो गरेको हो, आवश्यक कारबाही गर्न निर्देशन दिइसकेको छुँ ।’
सिडिओ उप्रेतीले पनि प्रमाणसहित उजुरी आएमा बढी मुल्य लिएर डेंगु परीक्षण गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने बताए । प्रदेश स्वास्थ्य निर्देशक डोटेलले पनि बढीमा ५ सय रुपैया पर्ने किटलाई २० प्रतिशत नाफा राखेर मात्र टेष्टको पैसा लिन पाउने बताए । ‘बढीमा किटको दाम ५ सय परेको हुन्छ, त्यसमा २० प्रतिशत मात्र नाफा राख्न मिल्छ । धेरै शुल्क लिएको हो भने उजुरी दिनुस्, कारबाही हुन्छ,’उनले पनि भने ।




































































