औजार : आजको औजार दैनिकमा “मालपोत कार्यालयको भवन निर्माण तीव्रः २ वर्षपछि पानबारीबाट सेवा” शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारीमा मालपोत कार्यालय धरान शाखाको भवन निर्माण तीव्र पारिएको छ । नमुना कार्यालयको अवधारणा अन्तर्गत सरकारले पानबारीमा मालपोत कार्यालयको भवन निर्माण शुरु गरेको हो । हाल मालपोत कार्यालयको भवन निर्माण शुरु भएको हो भने अब नापी कार्यालयको पनि सोही स्थानमा भवन बन्ने निश्चित छ । नापी भवनको लागि टेण्डर लाग्न बाँकी रहेको श्रोतले बताएको छ । मालपोत कार्यालयको लागि सरकारले ३ करोड ८२ लाख ८८ हजार ४ सय ३४ रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही अनुरुप मालपोतको भवन निर्माण वैशाख १ गतेदेखि शुरु गरिएको हो । भवन ३ तले बन्ने भएको छ । भवन निर्माण सम्पन्न गर्नको लागि आषिश आशीर्वाद जेवि त्रियुगा १३ उदयपुरले ठेक्का लिएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “दुई वर्षसम्म जनप्रतिनिधि अन्यौलमा” शीर्षकको समाचार छापिएको छ । महान्यायधीवक्ता अग्नि खरेलले संविधान र कानुनलाई टेकेर स्थानीय तहका जनप्रतिनिधि अघि बढे मात्र जनताको विश्वास जित्न सकिने बताएका छन् । जिल्ला समन्वय समिति झापाले मंगलबार भद्रपुरमा आयोजना गरेको रुथानीय कानुन निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै देशको कानुन भनेकै संविधान भएकोले विचार पुर्याउन सुझाव दिएका छन् । संविधानसँग बाझ्ने गरी स्थानीय सरकारले कानून निर्माण गर्न नहुने उनले धारणा राखे । त्यसो नगरे जनप्रतिनिधिले जनताको विश्वास कहिल्यै जित्न नसक्ने उनले बताए । अधिकांस स्थानीय तहमा अहिले पनि कानून बन्न नसकेको पाइएकोले कानून निर्माणका लागि जनशक्ति नभएको सुनाए । अघिल्लो सरकारले संविधानमा भएबमोजिम प्रदेश र स्थानीय तह सञ्चालनका लागि कानून निर्माण गरिदिएको भए अहिले यस्तो समस्या नहुने उनको बुझाई थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “वडाध्यक्षले कुटे प्रध्यानाध्यापक” शीर्षकको समाचार छापिएको छ । महोत्तरीका एक वडाध्यक्षले विद्यालयका प्राधानाध्यापकलाई कुटपिट गरेको आरोप लागेको छ । बनौटा नगरपालिका ७ स्थित रहेको जनता माध्यमिक विद्यालयका प्राधानाध्यापकलाई सोही वडाका वडाध्यक्ष विजय महतोले प्राधानाध्यापक महेश झालाई कुटपिट गरेको आरोप लागेको हो । साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै आफूलाई वडाध्यक्षले कुटपिट गरेको प्राधानाध्यापक झाले आरोप लगाएका हुन् । वडाध्यक्ष विजय महतोले मुख्यमन्त्रीको बेटी पढउ बेटी बचाउ कार्यक्रम अन्तर्गत बिहीबार हुने भनिएको साइकल वितरण कार्यक्रमको अध्यक्ष गर्न नदिएको भन्दै प्रधानाध्यापक झालाई कुटपिट गरेको प्रतयक्षदर्शी विद्यार्थीहरुले बताएका छन् ।