औजार : आजको औजार दैनिकमा “स्वर्णिम शब्द कुञ्जको तयारी तीव्र” शीर्षकको समाचार छापिएको छ । यो बेलाको चर्चित कवि तथा आख्यानकार मदन पुरस्कार विजेता राजन मुकारुङ स्वर्णिम साहित्य समाज बहाहक्षेत्र नगरपालिकाले आयोजन ागर्ने “स्वर्णिम शब्द–कुञ्ज”मा प्रमुख आकर्षक व्यक्तिको रुपमा आउने भएका छन् । नेपाली साहित्यको विकास र टेवामा अनवरत रुपमा विगत बाह्र वर्षदेखि निरन्तर रुपमा साधना गरिरहेको साहित्यिक संस्था स्वर्णिम साहित्य समाजले गर्ने अत्यन्तै विशिष्ठ कार्यक्रममा मदन पुरस्कार विजेता राजन मुकारुङको समेत उपस्थिति रहने भएको छ । आगामी भदौ २८ गते आयोजना हुने स्वर्णिम शब्द कुञ्जमा दुईवटा सेसनहरु हुनेछन् । औपचारिक कार्यक्रम पश्चात कवि तथा राजन मुकारुङको यो बेलाका बहु चर्चित कविता कृति हाटा जाने अघिल्लो रात माथि अन्तरसंवाद हुने छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “६ लेन सडकमा हाईटेन्सन पोलको अवरोध” शीर्षकको समाचार छापिएको छ । नेपालमा विकास निर्माणका काममा सम्बन्धित निकायहरुबीच समन्वय नहुने घटना पुरानो भने होइन । तर निर्माणाधिन रानी, विराटनगर हुँदै धरानसम्मको ६ लेन सडक योजनाको इटहरी तरहरा सडक–खण्डमा सरकारी कार्यालयले कति लापरबाही गर्छन् भन्ने कुरालाई उदाङगो पारिदिएको छ । तरहरा क्षेत्रमा ३ मिटर बगैंचासहितको फराकिलो सडक खण्डतिर हेर्दा सडकबीचमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । त्यहाँ ठुल्ठुला हाईटेन्सन बिजुलीका पोल छन् । सडक बीचमा दायाँ बायाँ दुबैतर्फ पोल ठडिएका छन् । सडक पिचअघि नै हटाउनु पर्ने ती पोलहरु विद्युत प्राधिकरण र परियोजनाबीच समन्वय नहुँदा पिच भएको लामो समय भइसक्दा पनि पोल हटाइएका छैनन् । खुल्ला सडकको बीच भागमा रहेका बिजुलीका पोल हट्न नसक्दा त्यस ठाउँमा धेरै दुर्घटना भइसकेका छन् । जसका कारण सवारी चलाउन कठिन हुने गरेको र ती पोलहरु न्हटाए कुनै पनि बेला अझ ठुलो दुर्घटना निम्तिन सक्ने इटहरी २ शान्तिनगरका सफारी चालक हर्क बस्नेतले बताए ।

त्यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “कैद सजाय तोकिएका अभियुक्त खुलेआम” शीर्षकको समाचार पनि छापिएको छ । अदालतले २ हजार जरिवाना र ६ महिना कैद सजाय तोकेर फैसला गरेको दुईजना अभियुक्तहरु खुलेआम हिँडडुल गर्ने गरेका छन् । दिनदहाडै विराटनगरमा तरवार प्रहार गरी तीनजनालाई घाइते बनाएका विराटनगर ९ घोघापुल चौकका एजाज अहमद परवेज र सोही ठाउँका आजम परवेजलाई जिल्ला अदालतले दोषी ठहर गर्दै तोकेको जरिवाना र कैद सजाय फैसलालाई उच्च अदालतले पनि सदर गरेको ११ दिन बितिसक्दा पनि प्रहरीले उनीहरुलाई पक्राउ नगर्दा खुलेआम हिंडने गरेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “चिटिक्क जनकपुर योजना अलपत्र” शीर्षकको समाचार छापिएको छ । गतवर्ष संघीय सरकारले एक अर्ब १६ करोड रकमको लागतमा चिटिक्क जनकपुर बनाउने योजना थाल्यो । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको एतिहासिक पोखरी शौन्दर्यीकरण तथा नगरसरसफाईका लागि योजना अघि बढाउने भन्दै पालिकासहित विभिन्न निकायसँग सम्झौता पनि भयो । तर, योजना सम्झौता भएको एक वर्ष नबित्दै प्राविधिक त्रुटिको कारण देखाउँदै टेण्डर नै रद्द भएको छ । खानेपानी व्यवस्थापन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । आयोजना सम्पन्न भइसकेपछि त्यसको सञ्चालन, मर्मत सम्भारलगायतको कार्यका लागि उपमहानगरपालिकालाई आयोजना हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख छ । आयोजनाअन्तर्गत ३१ व्टा पोखरीको सरसफाई र संवद्र्धन गर्ने, बाह्र बिघा रंगभुमि मैदानलाई सरसफाई तथा संवद्र्धन गरी अन्तराष्ट्रियस्तरको मैदान बनाउने र जनकपुरधाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको थियो ।