औजार : आजको औजार दैनिकमा “वीपी प्रतिष्ठान परिसरमा किरा परेर एक व्यक्तिको गयो ज्यान” शीर्षकको समाचार छापिएको छ । करिब ४० वर्षको ज्युदो युवा शरीर । कम्मर मुनिको अगाडीको भागमा बसेका हरिया झिंगा । कम्मर पछाडी स्याउँ स्याँउती परेका औंसा । बाहिरबाट हरियाली र विशाल देखिने एसियामै नाम चलेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । प्रतिष्ठानको प्रतिष्ठा नै धरमरमा पार्ने इमर्जेन्सी ब्लकको अगाडि विगत १५ दिन देखि मृत्यु पर्खिरहेको एउटा वेवारिसे शरीर थियो । शनिबार १ बजे सम्म चलढल नगर्ने तर नजिकैबाट सास फेर्दा शरीर अलिअलि हल्लिएको देखिन्थ्यो । जिउँदै शरीरलाई किराले खादै गरेको दृश्य बेलाबेला अस्पताल आएकाहरुमा आउने गर्दथे । विरामीको लावारिश शरीर हेर्न आउने सग्ला मान्छेह रु भने नाक नथुनी धेरै नहुने । बेवारिसे विरामीको गन्धको कारण इमर्जेन्सीमा आफन्त रुग्न आएका निरोगी मान्छे पनि रोगी हुने स्थिति थियो । नाम र ठेगाना पत्ता नलागेकोले स्याँउ स्याँउती किरा परेपनि उपचार गरेन । बरु उनी बाहिर आएर सुते । सुतेकै अवस्थामा शनिबार दिउँसो ५ बजे उनको मृत्यु भयो । बेवारिसे मृत व्यक्ति मात्र हैन अस्पतालमा भएका वेवारिसे विरामीको अवस्था पनि उस्तै छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “चुनावको माहोलमा तातिँदै धरान” शीर्षकको समाचार छापिएको छ । धरानमा चुनावी माहोल तातिन थालेको छ । नगरका राजनीतिक दलहरुले स्थानीय तहको चुनावलाई लक्षित गरेर नगर भेला, वडाभेला र टोलभेल ागर्न थालेका छन् । निर्वाचन आयोगले रिक्त रहेका स्थानिय, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिको निर्वाचन क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरेपछि धरानमा प्रमुख दलहरु नेकपा र कांग्रेस मतदाताको मन जित्न चुनावी माहोल बनाउन थालेका छन् । धरान उपमहानगरपालिकामा ०७५ साउन १ गते प्रमुख तारा शुब्बाको निधन भएपछि उक्त प्रमुख पद रिक्त भएको छ । चुनावी चटारोमा सबैभन्दा बढी कांग्रेसलाई लागेको छ । नेपालको राजनीतिक इतिहासमा धरानमा बामपन्थी उम्मेदवारले मात्र एकछत्र जित निकाल्दै आएको छ । यसअघि भएका स्थानीय, प्रदेश र संघीयको निर्वाचनमा बहुमत ल्याएर नेकपाले सरकार बनाएको अवस्थामा सुनसरी क्षेत्र नं. १ को धरान उपमहानगरपालिकामा कांग्रेसको लागि जित हासिल गर्नु फलामको चिउरा चपाउनु बराबर हुने भएकोले नेकपाबाहेकका अरु दलसँग गठबन्धनको रणनीति अपनाउने तयारीमा जुटेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “पब्लिक माध्यमिक विद्यालय जिल्लाको नमुना नगरको उत्कृष्ट” शीर्षकको समाचार छापिएको छ । गत असार २९ गते सुनसरी जिल्लाको नमूना विद्यालय घोषित भएको धरान १२ स्थित पब्लिक मााध्यमिक विद्यालयलाई शिक्षा दिवसको अवसरमा धरान उपमहानगरपालिकाले पनि नगरको उत्कृष्ट विद्यालय घोषणा गरेको छ । जिल्लाकै नमूना विद्यालय बन्न सफल भएको पब्लिकलाई नगरले १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ । पछिल्लो समय धरानका सामुदायिक विद्यालयको रुपमा अघि बढिरहेको विद्यालयमा विद्यार्थीको पनि आकर्षण बढ्दै गएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “आफ्नै सांसदमाथि खनिए मुख्यमन्त्री” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आईतबारको संसद बैठकमा आफ्नै दलका सांसदमाथि खनिएका छन् । संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केही दिनअघि नेकपा सांसद उपेन्द्रप्रसाद घिमिरेले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । सांसद घिमिरेले नेकपा नेतृत्वको सरकारकै पालामा भ्रष्टाचार ज्यादै बढेको, तल्लो तहसम्म भ्रष्टाचारले जरा गाढेको तथा मन्त्रीकै स्वाकीय सचिवहरु असुलीमा लागेको भन्दै त्यसबारे सरकारको धारणा मागेका थिए । त्यसक्रममा उनले “सांसदको लोगो लगाएर हिँडन अप्ठेरो भएको अहिले आफू लोगो फुकालेर हिँडेको भनेका थिए । मुख्यमन्त्री राईले उनको यही अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । मुख्यमन्त्रीले सांसद घिमिरेको नाम नलिई उनको भनाइको कडा आलोचना गरेका छन् ।