औजार : आजको औजार दैनिकमा “पाँच प्रकारका सहकारी सञ्चालन अनुमति” शीर्षकको समाचार छापिएको छ । एक नम्बर प्रदेश सरकारले प्रदेशमा पाँच प्रकारका सहकारी सञ्चालनको अनुमति दिने भएको छ । प्रदेशसभाले आइतबार सर्वसम्मतले प्रदेश सहकारी विद्येयक पारित गरेपछि अब प्रदेशमा पाँच प्रकारका सहकारी सञ्चालन हुन पाउने भएका हुन् । प्रदेशसभाबाट पारित भएको सहकारी विद्येयकमा उत्पादक सहकारी, सेवा सहकारी, वित्तिय र श्रमिक अनि बहुउद्देश्य सहकारी प्रदेशमा सञ्चालन हुन पाउने उल्लेख छ । विद्येयकमा उल्लेख भएअनुसार कृषि उत्पादनका लागि उत्पादन सहकारी, थोक तथा खुद्रा बजार, ढुवानी, यातायात, सञ्चार, पर्यटन, तालिम, होटल, व्यायामशाला, पार्क, उद्यम फोहोरमैला व्यवस्थापन र कवाडी संकलनलगायतका लागि सेवा सहकारी, बचत, ऋण कारोबार र बीमाका लागि वित्तिय, श्रम र सीपका लागि श्रमिक सहकारी र दुई वा दुईभन्दा बढी कारोबार गर्नेले बहुउद्देश्य सहकारीका रुपमा सञ्चालन हुन पाउने छन् । पारित विद्येयकमा प्रदेशको सरकारी नियमन गर्न सहकारी रजिष्टार नियुक्त गर्ने व्यवस्था गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इटहरीमा विप्लवको चन्दा आतङ्क” शीर्षकको समाचार छापिएको छ । पछिल्लो समय इटहरी आसपासमा चन्दा आतङ्क बढेको छ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीले सुनसरीको इटहरी आसपासमा चन्दा आतङ्क मच्चाउन थालेको हो । शैक्षिक संस्थाहरुसँगै विप्लव समूहले व्यापरीहरुसँग पनि चन्दा माग्न थालेको हो । नेपालीहरुको चाडपर्व नजिकिएसँगै बजारमा चँन्दा आतङ्क बढ्न थालेको छ । अहिले इटहरीको शैक्षिक संस्थाहरुलाई पत्र नै लेखेर चन्दा माग्न थालेको एक निजी विद्यालयका प्रिन्सिपलले बताए । “रकम नै तोकेर चन्दा माग्छन् कहाँबाट ल्याएर दिनु ? नाम नखुलाउने शर्तमा उनले भने, “अहिले मेरो कलेज मात्र हैन, अधिकांश कलेजमा चन्दा मागेका छन् । इटहरीका विश्व आदर्श र सुष्मा कलेजालाई पाँच पाँच लाख चन्दा माग गरेको बताइएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “एम्बुलेन्समा राखेर सीमा कटाइन्छ” शीर्षकको समाचार छापिएको छ । माइती नेपाल र प्रहरीको सहकार्यमा २०७५ साउन ७ गते भारतको मिजोरोम नाकाबाट १ सय ७९ जना नेपालीहरुलाई उद्दार नेपाल फर्काइयो । उद्दार गरिएकाहरु पश्चिम नेपालसँगै प्रदेश १ का सुनसरी, मोरङ, झापा र खोटाङका बढी थिए । उनीहरुलाई मिजोरोम नाका हुँदै बर्मा लाने तयारी हुँदै थियो । मिजोरोमबाट यति धेरै सङ्ख्यामा नेपालीहरुको उद्दार गरेपछि बर्मा “म्यान्मार” अहिले मानव बेचबिखन र ओसारपसारको नयाँ ट्रान्जिट देश देखिएको छ । १ सय ७९ जनालाई झापाको काकरभिट्टा हुँदै भारतको बागडुरा र दिल्ली हुँदै मिजोरोम पुर्याइएको थियो । यस कार्यमा उनीहरुलाई एम्बुलेन्समार्फत नेपाल भारत सीमा कटाइएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “भ्रष्टाचार नियन्त्रणमा सरकार विफल” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ सरकार भ्रष्टाचार नियन्त्रण गर्न विफल बनेको बचाउँदै सत्तारुढ नेकपाका सांसदहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुको तीव्र आलोचना गरेका छन् । सरकारको नाकैमुनि भ्रष्टाचारको दुर्गन्ध फैलिएको तर सरकारले त्यसलाई देखेको नदेख्यै गरेको सांसदहरुको आरोप छ । नेकपा संसदीय दलको सोमबार आयोजित बैठकमा अधिकांश सांसदहरुले सरकारको कडा शब्दमा आलोचना गरेका छन् । भ्रष्टाचार नियन्त्रणमा विफल बनेको, सेवा प्रवाहमा कतै सुधार नभएको, पुरानै ढाँचा र ढर्रामा सरकार चलेको भन्दै सांसदहरुले असन्तोष प्रकट गरेका छन् ।