औजार : आजको औजार दैनिकमा “धरानमा सर्च एण्ड डिस्ट्रोय अभियान तिब्र पार्न अनुरोध” शीर्षकको समाचार छापिएको छ । डेंगु नियन्त्रणकालागि सर्च एण्ड डिस्ट्रोय अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सुनसरी १ नं. क्षेत्रका सांसद जयकुमार राईले अपिल गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै सांसद राईले सुरुमा धरानमा देखिएको डेंगु अहिले देशभरी फैलिएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सर्च एण्ड डिस्ट्रोय प्रभावकारी रुपमा सञ्चालन गर्न सम्बन्धित निकाय, संघ–संस्था लगायत आम धरान नगरबासीलाई अनुरोध गरेका छन् । सांसद् राईले आफु काठमाण्डौंमा बसेर विभिन्न स्वास्थ्य निकाय तथा रोग नियन्त्रण महाशाखा इपिडिमियोलोजीसंग सहकार्य गरी डेंगु परिक्षण गर्ने किटको अभाव हुन नदिन काम गरिरहेको र विज्ञ टोलीलाई धरानमा अभियानकालागि पठाउनेदेखि प्रभावित क्षेत्रमा स्वयं उपस्थित भई निरिक्षण गरेको बताएका छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नक्कली सुन दिएर व्यापारीबाटै ठगी” शीर्षकको समाचार छापिएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा सुन पसल सञ्चालन गर्ने सुन व्यापारीले ग्राहकले धितो राखेको सुन सक्कली भनी नक्कली दिदै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गर्दै आएको छ । प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका २ स्थित गणेशलक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका विराटनगर महानगरपालिका ४ का अन्दाजी ३६ वर्षीय जितेन्द्र स्वर्णकारलाई प्रहरीले सक्कली भनी नक्कली सुन दिएको आरोपमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । व्यापारी स्वर्णकारले आफ्ना सुन पसलमा धितो राखेको सुनहरु ग्राहकले सावाँ र ब्याज चुक्ता गरेपछि सक्कली सुन राखेर नक्कली सुन दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । सुन व्यापारी साहले प्रारम्भिक चरणको अनुसन्धानमा मङ्गलबारसम्म विभिन्न ८ जनालाई ८ लाख मूल्य बराबरको सक्कली सुनको सट्टा नक्कली सुन दिएर ठगी गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “जुवा र यौन गतिविधिको अखडा बन्दै उर्लाबारी” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारी जुवाको अखडा बनिरहेको गुनासो आइरहेको बेला उर्लाबारी प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । उर्लाबारी ५ स्थित होटल सम्राटबाट सोमबार राति साढे १२ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी निरीक्षक सुवास राईको नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ का २१ वर्षीय आकाश थापा सोही नगरपालिका वडा नं. १ का ३८ वर्षीय राजु भनिने सञ्जीव गिरी र ३५ वर्षीय नरेन्द्र लिम्बु रहेका छन् । त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ५ का ३३ वर्षीय विकास राई, ३२ वर्षीय सन्तोष भनिने विशाल राई, ४२ वर्षीय कृष्ण अधिकारी, उर्लाबारी नगरपालिका वडा नं. ३ का ४० वर्षीय दिनेश थापा र ३५ वर्षीय जाइतो चेम्जोङ पक्राउ परेका हुन् । उर्लाबारी नगरपालिका वडा ७ का २२ वर्षीय मोहन कटुवाल र ४१ वर्षीय अशोक राई पनि पक्राउ परेका छन् । पक्राउ परेका कटुवाल होटलका कर्मचारी हुन् । मध्यरातको समयमा होटलमा होहल्ला र झगडा भइरहेको सुचना पाएपछि पुगेको प्रहरी टोलीले नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैसहित पाँच बुङ तास फेला पारेको छ । चाडपर्वसँगै उर्लाबारी जुवाडेको अखडा बन्नु चिन्ताको विषय बनेको छ । त्यस्तै, उर्लाबारीका केही होटलले महिला राखेरै यौन धन्दा सञ्चालन गरिरहेको भएपनि प्रहरीले त्यसतर्फ ध्यान दिएको छैन । उर्लाबारीमा जुवा र यौनको अखडा बनेको भन्दै प्रहरीले त्यस्तो कार्यमा संलग्न जोकोहीलाई कार्बाही गर्नुपर्ने सरोकारवाल बताउँछन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “अनलाइन प्रणालीमा जान सकेन मालपोत” शीर्षकको समाचार छापिएको छ । भोजपुरमा सेवाग्राहीलाई आधुनिक प्रणालीबाट छिटोछरितो सेवा प्रवाह गर्नका लागि लागू भएको अनलाइन प्रणाली जिल्ला मालपोत कार्यालय भोजपुरमा सुरु हुन सकेको छैन । अनलाइन प्रणाली कार्यालय लागू गर्न कर्मचारीहरु प्रविधि जडान र प्रविधि सन्चालनमा दक्ष नभइसकेकोले ढिलाई भएको कार्यालयले जनाएको छ । सर्वसाधारणका लागि अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्नका लागि कम्पनीका प्राविधिकले प्रविधि सञ्चालनका लागि कर्मचारीलाई तालिम दिइरहेका छन् ।