औजार : आजको औजार दैनिकमा “रामधुनीलाई रामायण सर्किटमा जोड्ने तयारी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रामधुनीलाई रामायण सर्किटमा जोड्ने तयारी सुरु गरिएको छ । रामधुनी बाबा वनखण्डी गुठी मन्दिर व्यवस्थापन समितिले सोमबार सरोकारवालाहरुको वृहत भेलाको आयोजना गरी भारत तथा नेपालमा रहेका राम मन्दिरहरुको सञ्जाल रामायण जोड्नका लागि तयारी सुरु गरिएको जानकारी दिएको हो । सुनसरी क्षेत्र नं. ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले यस क्षेत्रको बारेमा आवश्यक फायल तयार गरी नेपाल स्थित भारतीय राजदुत मञ्जीव सिंह पुरीमार्फत रामधुनी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न रामायण सर्किटमा जोड्ने गरी कार्य अगाडि बढाउन प्रस्ताव गरिएको जानकारी दिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “लिभिङ टुगेदरमा रहेकी प्रेमिकाको हत्या” शीर्षकको समाचार छापिएको छ । लिभिङ टुगेदरमा रहेकी प्रेमिकाको हत्या आफ्नै प्रेमीले गरेको खुलेको छ । दुई वर्षदेखि संगै बस्दै आएकी प्रेमिकालाई झापाको गौरादह नगरपालिका ६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुडालले गत आइतबार मोरङको रतुवामाई नगरपालिका ६ मा हत्या गरेको प्रहरीले जनाएको छ । चुडालले आफ्नो प्रेमिका हत्या गरेको तीन दिनपछि मङ्गलबार राती उर्लाबारीस्थित दुर्गापुरीबाट प्रहरीले पक्राउ गरेको हो । हत्या गरिएकी अन्दाजी ३५ वर्षीय महिलाको हालसम्म ठेगाना नाम नखुले पनि उनीहरु विगत दुई वर्षदेखि सँगै बस्दै आएका थिए । स्थानीयका अनुसार हत्या भएकी महिलालाई चुडालले सृजना भनेर बोलाउने गरेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मुख्यमन्त्रीको भनाइप्रति कांग्रेसको आपत्ति” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को मुख्य विपक्षी दल कांग्रेसले प्रमाण बोर मात्रै भ्रष्टाचारका विषयमा संसद्मा बोल्न मुख्यमन्त्रीले उर्दी गरेको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । मुख्यमन्त्री शेरधन राईले भदौ २२ को संसद् बैठकमा सम्बोधनका क्रममा प्रमाणसहित भ्रष्टाचारको विषय उठाउन सांसदहरुलाई आग्रह गर्दै प्रमाण फेला परेको एक घण्टाभित्र जो कसैलाई कार्बाही गर्ने बताएका थिए । उनले त्यही अभिव्यक्तिप्रति प्रमुख सचेतक कार्कीले विरोध जनाएका हुन् । कार्कीले सामाजिक विकास मन्त्रालयका धेरै योजनामा भ्रष्टाचार भएको आरोप पनि लगाए ।