औजार : आजको औजार दैनिकमा “प्रहरी जवान संजीव राईलाई शहिद घोषणा” शीर्षकको समाचार छापिएको छ । भोजपुरमा नेत्र विक्रम चन्द विप्लवको जिल्ला इन्चार्जसँग झडपमा परी असार २५ गते मारिएको प्रहरी जवान स्वर्गीय संजीव राईलाई सरकारले शहिद घोषणा गरेको छ । सरकारले शहिद घोषणा गर्दै मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । गएको आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सत्तचार तथा सुचना प्रविधि मन्त्री तथा सरकार प्रवक्ता गोकुल बास्कोटाले प्रहरी जवान सञ्जीव राईलाई शहिद घोषणा र राहतस्वरुप उनको परिवारलाई १० लाख दिने निर्णय गरेको जानकारी दिए । गएको असार २५ गत्ते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुर इन्चार्ज निरकुमार राईसँगको झडपमा प्रहरी जवान सञ्जीव राईको ज्यान गएको थियो । दोहोरो गोली हानाहानमा विप्लव समुहका जिल्ला इन्चार्ज निरकुमारको पनि ज्यान गएको थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “तीन महिलाको उद्दार” शीर्षकको समाचार छापिएको छ । अवैध बाटो रोजेर विदेश हिँडेका तीन जना महिलाको उद्दार गरिएको छ । भारत हुँदै अवैध रुपमा कुवेत जान हिँडेका तीन जना महिलाको उद्दार गरिएको हो । आकर्षक तलब दिने भन्दै दलालले अवैध बाटोबाट लादै गरेको अवस्थामा विराटनगरस्थित २ नम्बर ढाटबाट मंगलबार साना हातहरु नेपाल नामक संस्थाले उद्दार गरेको हो । दलालले सिकाए अनुसार नै ती महिलाहरु जेगवनीमा सामान किन्ने बहाना बताएर हिँडेका थिए । उनीहरुको साथमा तेल हाल्ने ड्रम पनि थियो । “सोधपुछको क्रममा विदेश हिँडेको खुल्यो” साना हातहरु नेपाल विराटनगरका स्टेशन म्यानेजर दिवश श्रेष्ठले भने, “दलालले नेपालको विमानस्थल प्रयोग गरी विदेश जाँदा महँगो पर्ने भएकोले भारतको बाटो रोजेको भनेका रहेकाछन् ।”

उद्घोष : आजको उद्घोष दैनिकमा “पाँचथरमा दुई पटक उद्घाटन भएको बसपार्क अझै संचालनमा आउन सकेन” शीर्षकको समाचार छापिएको छ । पाँचथरको फिदिम २ पल्लोटारस्थित बसपार्क दुईपटक उद्घाटन भए पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनका लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराएका स्थानीय बसपार्क सञ्चालनमा नआउँदा आक्रोशित बनेका छन् । पछिल्लो पटक गत वर्षको मंसिरमा उद्घाटन भएको पाँचथरको फिदिममा रहेको बसपार्कमा अझैसम्म सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा नआउँदा बजार क्षेत्रमा जामको समस्या बढेर गएको छ । बसपार्क सञ्चालनका लागि निशुल्क रुपमा ११ रोपनी जग्गा उपलब्ध गराएका स्थानीयले बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । फिदिम नगरपालिकाले यातायात व्यवसायीसँग समन्वय नगरेकाले समस्या देखिएको भन्दै आफूहरु बसपार्क सञ्चालन गर्ने पक्षमा रहेको यातायात व्यवसायी नीलम गिरीको भनाइ छ । अहिले दैनिक २० देखि २५ वटा सवारी साधन आउने र चिट काट्नसाथ जाने गरेका छन् । पहिलोपटक ०७१ वैशाख १ गते बसपार्क उद्घाटन गरिएपछि भौतिक पूर्वाधारको अभाव देखाउँदै यातायात व्यवसायीले सवारी लैजान नमानपछि भौतिक पूर्वाधार निर्माण पनि भइसकेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “श्रीमतीको हत्या आरोपमा पक्राउ” शीर्षकको समाचार छापिएको छ । उदयपुरका एक मजदुर श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको आरोपमा जिल्लाको उदयपुरगढी गाउँपालिका ५ मौवासीका ४५ रमेश राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केशीले राईको कुटपिटबाट ३४ वर्षीया सुभद्रा बुढाथोकी राईको मृत्यु भएको उजुरीपछि गत २१ ग्ते पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।