औजार : आजको औजार दैनिकमा “समाजवादी पार्टीको नगर समिति गठन” शीर्षकको समाचार छापिएको छ । सुनसरी सदरमुकाम इनरुवामा समाजवादी पार्टीको समायोजन नगर समिति चयन भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिको पार्टी एकिकरण भएकाले इनरुवामा पनि समायोजन भएका समाजवादी पार्टीको इनरुवा नगर समिति गठन भएको छ । समाजवादी पार्टीको इनरुवा नगर समिति अध्यक्षमा गुलाव शर्मा चयन भएको छ । समायोजन भएको पार्टीको नगर उपाध्यक्षमा कुमार बस्नेत, अशोककुमार यादव, तेजनारायण पण्डीत, गोपाल यादव, महानन्द यादव, सचिवमा रामअवतार गुप्ता, सहसचिवमा महेश्वर मेहता, कोषाध्यक्षमा विनोद मेहता चयन भएका छन् । सदस्यहरुमा समिर सिंह, रुणा स्वर्णकार, आशा गुप्ता, संजिव खवास, चन्द्रदेव मेहता, शुशिला खत्वे, मनोज यादव, अन्जना गुप्ता, प्रमोद कुमार सिंह, सितादेवी यादव, बलराम यादव, विन्दु यादव र महेश्वर मेहता लगायत चयन भएका छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वन समूहसँग काठ माग्दै बेच्छन् प्रहरी” शीर्षकको समाचार छापिएको छ । मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकीमा प्रमुख भएर आएपछि अन्य ठाउँमा सरुवा हुँदा पनि प्रहरी हतपत जान मान्दैनन् । जान नमान्नुको कारण खाज्दै जाने हो भने धेरै भेटिन्छन् । ती मध्ये एउटा हो प्रहरी चौकी छेउमै रहेको चिसाङ खोलाबाट तीन महिने खोला बन्दमा ढुंगा, बालुवा र गिटी तस्करहरुसँग मिलेमतोमा निकासी गर्ने । त्यसैगरी अर्को कारण हो प्रहरी चौकीको चारैतिर सामुदायिक वन छ र सामुदायिक वनबाट भान्सा कोठा घेराबारा र खाना पकाउने दाउरा भन्दै माग्ने र अरुलाई बेच्ने गरेको तथ्यहरु फेला परेका छन् । प्रहरी चौकीका सई शेखर श्रेष्ठ सरुवा भएपनि अन्य ठाउँमा जान मानेका छैनन् । सई श्रेष्ठ र हवल्दार नरेश यादव मिलेर एक महिना अघि सामुदायिक वनले दाउराको नाममा दिएको २१ ीकबि २ थान गोलिया काठ कानेपोखरीका एक काठ मिललाई बेचिदिएको रहस्य खुलेको छ । दाउरा भनेर दिएको काठ प्रहरी चौकीमा नल्याएपछि सःमिललाई बेचिएको रहस्य खुलेको हो । कानेपोखरी प्रहरी चौकीको कम्पाउण्डमा करमको रुख ढलेपछि जनजागृती सामुदायिक वन समितिले प्रहरीको माग अनुसार खाना पकाउने भनेर दुईवटा टुना २१ ीकबिको काठ छोडेर गएको उपभोक्ता समूहका कर्मचारी रत्न राईले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “क्लबले रोक्यो बालविवाह” शीर्षकको समाचार छापिएको छ । मोरङको लेटाङमा क्रियाशिल बालक्लवको सक्रियतामा उमेर नपुगी भागेर विवाह गर्न लागेका बालबालिकाको विवाह रोकिएको छ । भागी विवाह गर्न लागेका लेटाङ २ का १७ वर्षीय किशोर र पथरी शनिश्चरेकी १५ वर्षीया किशोरीलाई क्लबको शक्रियतामा उमेर पुगेपछि विवाह गर्नेगरी अभिभावकको जिम्मा लगाइएको छ । लेटाङ २ को लक्ष्मी माध्यमिक विद्यालयको लक्ष्मी प्रकृति बालक्लबको अगुवाईमा सो बालविवाह रोकिएको हो । अभिभावकले सामान्य गाली गरेको निहुँमा भागेर विवाह गर्न खोजेका उनीहरुलाई विद्यालयको लक्ष्मी प्रकृति बालक्लब, सगरमाथा टिन्स क्लब तथा वडामा रहेको साथी शिक्षक समूह र लाफा क्लबको पहलमा इलाका प्रहरी कार्यालयमा दुबै पक्षका अभिभावकको रोहबरमा २० वर्ष पुगेपछि विवाह गर्ने गरी अभिभावकको जिम्मा लगाइएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “डेंगु प्रकोपः पाँचौ चरणको अभियान सुरु” शीर्षकको समाचार छापिएको छ । देशैभर फैलिएको डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले पाँचौ चरणको मालाथिन फगी स्प्रे अभियान सुरु गरेको छ । शनिबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन् । पाँचौ चरणको फगी स्प्रे अभियान सार्वजनिकस्थल केन्द्रीत हुने महानगर प्रमुख पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार फगी स्प्रेसहित जनचेतना अभिवृद्धिको कार्यक्रम पनि सञ्चालनमा ल्याइने छ । अभियानमा विद्यालयका विद्यार्थीहरुलाई डेंगु रोग र यसबाट बच्ने उपाएका विषयमा जानकारी दिइने छ । डेंगु नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा सर्च एण्ड डिस्ट्रोय अभियान पनि सञ्चालनमा रहेको छ । डेंगुको लार्भा पहिचान र नष्ट गर्ने उद्देश्यले नगरका सबै वडामा १४ वटा टिम खटाइएको महानगरपालिकाले जनाएको छ ।