धरान: प्रदेश नं १ स्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा एकेडेमी धरान र महेन्द्र मेमोरियल फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा एन्फा एकेडेमीले उदयपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै एन्फा एकेडेमी धरान सेमिफाइनलमा प्रवेश गरेको हो । एन्फाका लागी सोहन सिंताङ, असिमजंग कार्की र विश्वास ओझाले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच एन्फा एकेडेमीका युनिस बुढाथोकी घोषित भए । अघिल्लो खेलमा एन्फा एकेडेमी धरानले इटहरीको राष्ट्रिय जागृती फुटबल एकेडेमीलाई १०–० गोल अन्तरले पराजित गरेको थियो ।

आइतबार नै भएको दोस्रो खेलमा महेन्द्र मेमोरियल फुटबल एकेडेमीले धरान फुटबल क्लब एकेडेमीलई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्र मेमोरियलका लागी सुजन सरदारले पेनाल्टी गोल गरेका थिए । त्यस्तै दोस्रो गोल योगेश विष्टले गरेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै महेन्द्र मेमोरियलका अभिशेख गुरुङले एक हजार नगद प्राप्त गरे ।

सोमबार अन्तिम क्वाटर फाइनलमा एम्ब्रीय एकेडेमी मोरङ र मेचि नेत्रालय झापाबीच हुनेछ । प्रतियोगितामा १० वटा फुटबल एकेडेमी टिमले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद पुरस्कार जित्नेछन् ।