औजार : आजको औजार दैनिकमा “जितिया पर्वमा सार्वजानिक विदाको माग” शीर्षकको समाचार छापिएको छ । थारु समुदायका महिला तथा तराईरमधेशमा बसोवास गर्ने महिलाहरुको महान पर्व जितिया पर्वमा सार्वजानिक विदाको माग गरिएको छ ।
नेपाल सरकारले जितिया पर्वमा सार्वजानिक विदा कटौति गरेकोले प्रदेश १ मा विदा हुनु पर्ने माग गरेको हो । प्रदेश १ मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सार्वजानिक विदा माग गरेको थारु कल्याणकारीणी सभाका पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरीले जानकारी दिए । सो पत्र बुझाउँदै थारु कल्याणकारीणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, इटहरी उप-महानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, आदिवासी जनजाति महासंघ रामधुनीका अध्यक्ष राजकुमार चौधरी, थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका अध्यक्ष जानकी चौधरी, थारु महिला सभा रामधुनीका अध्यक्ष सिता चौधरी लगायतले सार्वजानिक विदा हुनु पर्ने माग राखेर ज्ञापन पत्र बुझाए । थारु महिला तथा तराईमा बसोवास गर्ने महिलाहरुले यही असोज ५ गते जितिया पर्व सभ्य, भव्य र धुमधामका साथ मनाउने तयारीमा रहेको थारु कल्याणकारीणी सभा सुनसरीका कार्यक्रम संयोजक तारादेवी चौधरीले बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सिसी क्यामेरा जडानपछि जडिबुटी चोरी घट्यो” शीर्षकको समाचार छापिएको छ । उत्तरपूर्वी पाँचथरको याङ्वरक र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिमावर्ती क्षेत्रबाट बहुमूल्य जडिबुटिको चोरी निकासी हुने क्रम घटेको छ । पाँचथर–ताप्लेजुङ सीमावर्ती तिम्बुङ पोखरी क्षेत्रलाई बहुमूल्य जडिबुटीको राजधानीको रुपमा लिइन्छ । सो क्षेत्रमा रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा हिमाली संरक्षण मञ्च ताप्लेजुङले सिसी क्यामेरा जडान गरेपछि जडिबुटीको चोरी निकासी कम भएको हो । दुर्लभ वन्यजन्तु रेडपाण्डा –हाब्रे) को निगरानीका लागि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम अन्तर्गत सिसि क्यामेरा जोडिएको हो । जसले जडिबुटीको चोरी निकासी रोक्नसमेत महत्वपूर्ण काम गरेको सो क्षेत्रमा होमस्टे सञ्चालन गर्दै आएका खडगबहादुर भण्डारीले बताए । भण्डारीका अनुसार खुला सिमानाका कारण सो क्षेत्रबाट ठूलो मात्रामा जडिबुटी भारत र चीनतर्फ चोरी निकासी हुने गरेको थियो । पर्यटकको भेषमा आउनेहरुबाट जडिबुटीको चोरी निकासी हुने गरेको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “करणी अभियोगमा दुई जना पक्राउ” शीर्षकको समाचार छापिएको छ । मोरङ कटहरी गाउँपालिका २ की रितादेवीमण्डल र सुरजकुमार मण्डललाई शनिबार पक्राउ गरेका छन् । रितादेवीले आफ्नो घरमा स्थानीय सुरजकुमारलाई बोलाई एक १५ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गर्न लगाएको अभियोगमा प्रहरीले खोजी गरेपछि तीन वर्षदेखि उनीहरु फरार थिए । उनीहरुलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङमा आइतबार बुझाएको जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “विजनेस अभावमा सदन स्थगित” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ संसदको सामाजिक विकास समितिले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकको प्रतिवेदन नदिँदा संसद् बैठक दुई दिनलाई स्थगित भएको छ । आइतबार २ बजेका लागि डाकिएको संसद् बैठक विजनेस अभावमा रोकिएको हो । प्रदेशसभा सचिवालयले आइतबार सूचना टाँस गरेर दुई दिनलाई सदन स्थगित भएको जनाएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विजनेस अभावमा सदन स्थगन भएको जानकारी दिए । तर, सामाजिक विकास समिति सभापति सरिता थापाले भने आफ्नो समितिका कारण बैठक स्थगन नभएको बताउँदै त्यसबारे सभामुख र सरकार जवाफदेही बन्ने प्रतिक्रिया दिएकी छिन्