औजार : आजको औजार दैनिकमा “दुर्गगन्धित हुँदै भेडेटार !” शीर्षकको समाचार छापिएको छ । डेढ महिनादेखि भेडेटारको फोहोर नउठ्दा दुर्गन्धित भएको छ । एक नं. प्रदेशकै प्रमुख पर्यटकिय शहर भेडेटारको फोहोर डेढ महिनादेखि सडकमै रहेको छ । धरान उपमहानगरपालिकाले भेडेटार बजारको फोहोर नियमित रुपमा उठाउँदै आएको थियो । भेडेटार बजारको अधिकांश भूभाग धनकुटाको सागुरीगढी गाउँपालिकामा पर्छ भने केही केही भूभाग धरान उपमहानगरपालिका क्षेत्रमा पर्दछ । धरान उपमहानगरपलिकाको भूभागमा पर्ने क्षेत्रबाट अहिले पनि धरान उपमहानगरपालिकाले फोहोर नियमित उठाउँदै आएको छ । तर साँगुरीगढी गाउँपालिकाको क्षेत्रमा भने फोहोर उठाउन छाडेको छ । धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको नेतृत्वबीच केही समय धरानले फोहोर उठाइदिने सहमति भएको थियो । तर साँगुरीगढी गाउँपालिकाले फोहोर व्यवस्थापनतर्फ ध्यान नदिएको भन्दै गाउँपालिकाको क्षेत्रमा फोहोर उठाउन छोडेको धरान उपहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेले बताए । घिमिरे भने, “हामिले करिब ३ वर्षदेखि गाउँपालिकाको क्षेत्रबाट फोहोर उठाउँदै आएका छौ, कतिदिनसम्म हामीले फोहोर उठाइदिनु ? गाउँपालिकाले नै अब त्यसको व्यवस्थापन गर्नुपर्छ ।”

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बालिकालाई यौन धन्दामा लगाउने पक्राउ” शीर्षकको समाचार छापिएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती यौनधन्दामा लगाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक प्रलोभनमा पारेर भोजपुर घर भएकी १४ वर्षीया बालिकालाई इटहरीको दियालो होटलमा यौनधन्दा गराउन बाध्य बनाउने एक युवतीसहित २ जना युवकलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले होटल चेकजाँचको क्रममा दियालो होटलबाट १४ वर्षीया बालिकालाई उद्दार गर्दै ३ जनालाई पक्राउ गरेको हो । लामो समयदेखि यौनधन्दाले बदनाम हुँदै आएको इटहरीको दियालो होटलमा पुनः यौनधन्दा हुने गरेको भन्दै प्रहरीले छापामार्दा उनीहरु पक्राउ परेका हुन् । बालिकालाई काममा लगाइदिने भन्दै इटहरी ल्याइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । बालिकालाई ललाई फकाई धनकुटाकी आरती केसी भन्ने पवित्रा थापाले परिवारको अनुमति बिनै इटहरी ल्याएको प्रहरीले बताएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “विप्लवका झापा जिल्ला सेक्रेटरी पक्राउ” शीर्षकको समाचार छापिएको छ । झापा प्रहरीले विर्तामोडबाट नेकपा विप्लव समूहका नेता पक्राउ गरेको छ । विप्लवका दुई जना नेतालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । झापा जिल्ला सेक्रेटरी प्रविन मिश्र र जिल्ला सदस्य टिका पोखरेललाई विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरी स्रोत जनाएको छ । उनीहरुलाई प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले विर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठ भने उनीहरुलाई पक्राउ गरेको विषय आफुलाई जानकारी नभएको बताउँछन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “इटहरीका मेयरविरुद्ध अवहेलना मुद्दा” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरपालिकाका र मेयर द्वारिकलाल चौधरीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको छ । मेयर चौधरीले अदालतको आदेशपत्र च्यातेपछि आइतबार उच्च अदालत विराटनगरमा अवहेलना मुद्दा दायर भएको हो । विहीबार अदालतको अदेश बुझाउन भएका बेला मेयर चौधरीले पत्र च्यातेका थिए । साथै, अदालतले काम रोक्न आदेश दिएपनि नरोकेपछि पत्र च्यातेको र अदालतको आदेश नमानेको भन्दै अवहेलना मुद्दा दायर गरिएको जानकारी दिइयो । इटहरी वडा नं. ५ की कमला अधिकारी चौलागाईसहितले इटहरी उपमहानगरपालिका र मेयर चौधरीविरुद्ध अवहेलना मुद्दा दायर गरेको उच्च अदालतले जनायो । मुद्दा दायर गरेपछि उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिका र मेयर चौधरीलाई सात दिनभित्रमा लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।