औजार : आजको औजार दैनिकमा “साँगुरीगढी आफैले उठायो भेडेटारको फोहोर” शीर्षकको समाचार छापिएको छ । साँगुरीगढी गाउँपालिका आफैले भेडेटार बजार क्षेत्रको फोहोर उठाउन सुरु गरेको छ । करिब डेढ महिनादेखि भेडेटार बजारको फोहोर नउठ्दा बजार नै दुर्गन्धित हुन थालेको थियो । फोहोर नउठाउँदा बजार दुर्गन्धित भएको समाचारलाई औजार दैनिक पत्रिकाले प्रमुखताका साथ उठान गरेपछि भेडेटारको फोहोर उठेको हो । भेडेटार बजारको अधिकांश भूभाग साँगुरीगढी गाउँपालिकामा पर्दछ भने केही भूभाग धरान उपमहानगरपालिकामा पर्दछ । धरान उपमहानगरपालिकाले विगत ३ वर्षदेखि भेडेटारको फोहोर उठाउँदै आएको थियो । तर डेढ महिनादेखि भने धरानले आफ्नो क्षेत्रमा पर्ने बजारको मात्रै फोहोर उठाएर साँगुरीगढीको क्षेत्रमा पर्ने बजारको फोहोर उठाउन छाडेपछि भेडेटारको फोहोर सडकमा नै थियो । होटल व्यवसायी तथा स्थानीयले गाउँपालिकासँग बारम्बार फोहोर उठाइदिन आग्रह गर्दा पनि गाउँपालिकाले सुनुवाई नगरेको विषय औजार पत्रिकामार्फत सार्वजनिक भएपछि गाउँपालिकाले फोहोर उठाउन सुरु गरेको हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “जतासुकै पानीकै चर्चा” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अगरबत्ती बाल्ने दिन सकिएको एक वर्षअघि नै बताएको थिए । वैज्ञानिक वन व्यवस्थापनका कारण जंगलमा जथाभावी रुख कटान भएपछि उनले यस्तो धारणा राखेका थिए । तर वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख काटिने कार्य नरोकिएको भन्दै केही वन क्षेत्रका जानकारले आन्दोलन गरिरहेका छन् । बेलबारी ४ मा रहेको देवीथान सामुदायिक समितिका उपभोक्ताले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । सिमसारको नगरपालिकाको रुपमा विकास भइरहेको बेलाबारीमा रुख काटिँदै जाँदा पानीको स्रोत समेत घट्न सक्ने भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । वेतना सिमसार आसपासका देवीथान, अमना सिसौली र नक्सल सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन हुन नहुने स्थानीय मानबहादुर गौतमले बताए । केही सामुदायिक वनका उपभोक्ता मिलेर संघर्ष समिति नै बनाएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “वडामा ३ दिनदेखि ताला” शीर्षकको समाचार छापिएको छ । उदयपुरको कटारी नगरपालिका १० नं. वडा कार्यालयमा ३ दिनअघि लगाइएको ताला अझै खुलेको छैन । वडास्थित स्वास्थ्यचौकी सोरुङछबिसेमा कार्यालय सहयोगी नियुक्तिको विषय विवादमा असन्तृष्टपक्षले गत सोमबार दिउँसो लगाएको ताला अझै नखुल्दा वडा कार्यालयको नियमित कामकारबाही अवरुद्ध हुन पुगेको छ । वडाध्यक्ष लीलानाथ भट्टराईका अनुसार स्वास्थ्यचौकीमा रिक्त कार्यालय सहयोगीको दरबन्दी पदपूर्ति गर्न गत मंसिरमा गरिएको विज्ञापनमा ६३ जनाको आवेदन परेको थियो । तर, कसलाई नियुक्ति दिने भन्नेमा जनप्रतिनिधि र स्थानीय राजनीतिक दलबीच सहमति नजुटेपछि नियुक्ति प्रक्रिया रोकिन पुगेको थियो । सहमति नजुटेकै कारण विज्ञापन गरेको ७, ८ महिनासम्म कर्मचारी नियुक्त हुन नसकेपछि निवेदकमध्येकी एक ललिता विष्ट आफैं चौकी आएर स्वयंसेवकको रुपमा खट्न थालेपछि पुनः विवाद बल्झेर तालाबन्दीसम्म पुगेको उनले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “चाडबाडमा पनि बजार अनुगमन छैन” शीर्षकको समाचार छापिएको छ । चाडबाडको बेला प्रदेश नम्बर १ को राजधानी विराटनगरको बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् । खासगरी दशैँको मुखमा बजार अनुगमन नहुँदा उपभोक्ता चिनी, दैनिक उपभोग्य खाद्यान्न वस्तुलगायत तयारी कपडादेखि जुत्ताचप्पल समेत महँगो मूल्यमा किन्न बाध्य भएका हुन् । बजार नियमितरुपमा अनुगमन नहुँदा कालोबजारी बढेको जनगुनासो बढ्दै गएको छ । जनगुनासो बढेपनि जिम्मेवार निकाय मौन बस्दा उपभोक्ता त्यसको प्रत्यक्ष मारमा परेका छन् ।