औजार : आजको औजार दैनिकमा “धरान र केराबारी अब सीधा जोडिने” शीर्षकको समाचार छापिएको छ । सुनसरीको धरान उपमहानगरपालिका अन्तर्गत वडा नम्बर ६ स्थित पानवारी र मोरङको केराबारी गाउँपालिकालाई सडक सञ्जालले सीधा जोड्ने भएको छ । धरान बजारदेखि केराबारी सम्मको १५ किलोमिटरको दुरीको ग्रामीण बाटोलाई पुर्ण सडक सञ्जालले जोड्ने भएपछि सुनसरीको धरान र केराबारी गाउँपालिका अब सीधा जोडिने भएको हो । सुनसरी र मोरङको सीमाना चोक्टी स्थित हो । बुढीखोलाले दुई जिल्लालाई विभाजन गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका ६ नम्बर वडा र साविकको याङशिला हालको केराबारी जोडिएको स्थानीय तह हुन् । धरान ७ स्थित पानबारी स्टेनबाट सवारी साधनहरु त्यसतर्फ गई केराबारीसम्म पुग्ने गरेको छ । तर सडकको असुविधाका कारण त्यस क्षेत्रका बासिन्दालाई समस्या हुँदै आएको थियो । अहिले पनि धरानबाट केराबारीसम्म पुग्नको लागि धरान ६ पानबारीको चोक्टीबाट भने कच्ची सडक भएर केराबारी सम्म जानुपर्ने बाध्यता रहेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पथरीशनिश्चरेमा डेङ्गुको त्रास” शीर्षकको समाचार छापिएको छ । मोरङको पथरीशनिश्चरे नगरक्षेत्रमा डेंगु रोगबाट सङ्क्रमितहरुको संख्या दिनदिनै बढिरहेपछि त्यसबाट बच्ने उपायका बारेमा जनचेतना अभिवृद्धिका लागि दलित सेवा संघले अभियान थालेको छ । नगरपालिका कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोलासहितले अभियानको उद्घाटन गर्दै पर्चा वितरण गरेका छन् । नगरप्रमुख राईले आफ्नो घर र घर वरपर सफा पानी जम्न नदिने कुरामा ख्याल गरेर डेंगुबाट मुक्त हुन सकिने बताउँदै त्यसखाले कुरामा सचेत रहन आह्वानसमेत गरेका छन् । नगरमा डेंगुरोग बढिरहेको अवस्थामा यसबाट बच्ने सचेतनाका लागि तयार पारिएको पर्चा वितरण गर्दै वडा नम्बर १ को पथरी बजारमा माइकिङ गरी पर्चा वितरण गरिएको संघका नगरअध्यक्ष रामप्रसाद परियारले जनाए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “इलाम कारागारमा कैदी बन्दी बिरामी” शीर्षकको समाचार छापिएको छ । इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी परेपछि उपचारमा समस्या भएको छ । करिब ४ दिनयता कैदीबन्दीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने लक्षण देखिएको छ । ठूलो समूहमा उनीहरु विरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए । कारागारमा ७२ पुरुष ४ महिला ओछ्यान परेका छन् । केही बिरामी निको हुने र जाती हुनेक्रम करिब २ सातादे िखजारी रहेको कारागारले जनाएको छ । १ सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागारले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “नेकपा विराटनगरमा सागर थापा” शीर्षकको समाचार छापिएको छ । नेपाल कम्युनिष्ट पार्टीले विराटनगर महानगरपालिका कमिटिको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्कीलाई चयन गरेको छ । शनिबार बसेको नेकपा सचिवालयको बैठकले दुबैलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि थापा तत्कालिन एमालेमा महानगरमा दुई कार्यकाल इन्चार्ज र कार्की माओवादीमा प्रदेश सदस्य थिए । नेकपा जिल्ला सदस्य रहेका थापालाई अध्यक्षको जिम्मेवारी दिइदा प्रदेश सदस्य रहेका कार्कीलाई सचिव पदको जिम्मेवारी दिइएको छ ।