औजार : आजको औजार दैनिकमा “प्रतिष्ठानको होस्टेलभित्र मादक पदार्थ” शीर्षकको समाचार छापिएको छ । प्रतिष्ठान व्यवस्थापन पक्षको चरम लापरबाहीका कारण प्रतिष्ठानको छात्र, छात्रा छात्राबासमा विद्यार्थीहरु मादक पदार्थको खरिद गरि सेवन गर्ने गरेका छन् । प्रतिष्ठान जस्तो अति संवेदनशिल संस्थाको छात्रावासमा मादक पदार्थ सेवन गरी विद्यार्थी बिचमा कुटाकुट र आत्महत्यासम्मका घटना हुन थालेका छन् । प्रतिष्ठान व्यवस्थापन पक्षकै कमजोरीका कारण छात्रावासमा गैर कानुनी काम हुने गरेको छ । छात्रावासमा खटाइएका वार्डेन र सुरक्षा गार्डहरुको चरम लापवाहीका कारण विद्यार्थीहरुले मादन पदार्थको सप्लाई गर्ने गरेका छन् । १० दिन अगाडी प्रतिष्ठानको पुरुष छात्रावासमा मादक पदार्थ सेवन गरेका विद्यार्थीहरुबीच झडप भयो । झडपमा एकजना विद्यार्थी घाइते भए । प्रहरीले होस्टलबाटै एमबिबिएस अध्ययनरत दुई विद्यार्थीहरुलाई पक्राउ गरी दुई दिन हिरासतमा राखेर छाडेको थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “चाडलक्षित सुरक्षा योजना” शीर्षकको समाचार छापिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडबाडलाई लक्षित गर्दै सुरक्षा योजना अघि सारेको छ । सुरक्षालाई चुस्त बनाउन मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको हो । शहरबजारमा हुने चोरी, डकैती निरुत्साहित गर्ने, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन नदिनेलगायतका सुरक्षा योजना अगाडि बढाएको छ । घटनालगत्तै तत्कालै प्रहरी परिचालन र विस्तार गर्ने, राजमार्गको यातायात नियमित सञ्चालन गर्नेसमेत योजना बनाइएको मोरङ प्रहरीका एस्पी विश्व अधिकारीले बताए । प्रहरीले विराटनगरमा पाँच सेक्टरमा विभाजन गरिएको सुरक्षामा गाडि मोबाइल, सादा पोसाक, सिआरवी गाडी, पिकेट, पैदल, साइकल गस्त ीगर्ने भएको छ । प्रहरीले दशैमा भरपर्दो सुरक्षा प्रदान गर्न ९ सय ६० जना विषेश प्रहरी परिचालन गर्ने भएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “विप्लव समुहका भोजपुर जिल्ला सेक्रेटरी पक्राउ” शीर्षकको समाचार छापिएको छ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका छन् । आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका १० भैसिपंखास्थित गजुरमुखी भीर नजिकैको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । प्रजिअ खतिवडाका अनुसार विष्टको साथबाट गोली भरिएका इटालियन अटोमेटिक पेस्तोल दुई थान, ६ राउण्ड गोली, ह्याण्ड ग्रिनेट एक थान र नगद बरामद गरिएको छ । उनको साथबाट मोबाइल फोन, १२ वटा सिमकार्ड, चन्दा माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा पनि प्रहरीले फेला पारेको छ । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रजिअ खतिवडाले बताए । विष्ट भोजपुरकै ट्याम्के(मैयुङ गाउँपालिका(५ खावा, चोलन्तीका बासिन्दा हुन्।