औजार : आजको औजार दैनिकमा “मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित” शीर्षकको समाचार छापिएको छ । कांग्रेसको अवरोध र नाराबाजीकाबीच १ नम्बर प्रदेशसभाबाट मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको छ । सोमबार विधेयक पारित गर्ने क्रममा कांग्रसका सांसदले मन्त्रीलाई रोष्टम जान नदिने प्रयास गरे। रोष्टम घेराउ गर्दा मन्त्रीले कुर्सी नै नाघेर अस्वभाविक तरिकाले रोष्टम पुग्नु परेको थियो । आइतबारको संसद बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयकमाथिको प्रतिवेदन विरोध र नाराबाजीका बाबजुद पनि सहजै पेश गर्नु भएको भएपनि सोमबारको बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई रोष्टममा पुग्न गाह्रो र्पयो । बैठकको सुरुमै कांग्रेसका सांसदहरुले रोष्टम घेर्ने र मन्त्रीलाई त्यहाँ पुग्न नदिने तयारी गरेका थिए । सभामुख प्रदेशसभामा प्रवेश गरेसँगै कांग्रेसका महिला संसदहरु रोष्टम घेर्ने र मन्त्रीलाई प्रस्ताव पेश गर्नै नदिनका लागि रोष्टम अगाडि जम्मा भएका थिए । मर्यादा पालकलाई कांग्रेसका सांसद हटाउन समस्या भएको थियो । एक त साँघुरो संसद हल, थोरै ठाउँबाट ओहोर दोहोर गर्ने स्थानमा प्रतिपक्षी सांसदको लाइन र उनीहरुलाई छेक्न बसेका मर्यादा पालककै कारण रोष्टम पुग्न मन्त्रीलाई अप्ठ्यारो अवस्था थियो। तर, मन्त्री जीवन घिमिरे अस्वभाविक तरिकाले कांग्रेसका सांसदलाई छलेर सोहीबीचबाट रोष्टम पुग्नुभएको थियो । मन्त्री रोष्टममा पुगेपछि सत्तापक्ष नेकपाका सांसदहरुले भने तालि बजाएर स्वागत गरेका थिए । रोष्टम पुग्नु भएका मन्त्री घिमिरेले होहल्लाकै बीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरियोस् भन्दै प्रस्ताव पेश गर्नुभयो । विधेयक पारित गर्दा सत्तापक्ष र विपक्षको रुपमा १ नम्बर प्रदेशसभामा विवाद भएको यो पहिलो हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भद्रपुरमा साढे ७७ लाखको सडक नाला गुणस्तरहीन” शीर्षकको समाचार छापिएको छ । ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ । मद्रपुर नगरक्षेत्रमा अहिले दर्जनौं योजनाका कामहरु निर्माणधीन अवस्थामा सञ्चालित रहेका छन् । त्यसमध्ये अधिकांश निर्माण्स्थलमा इञ्जिनियरसहितका टोली नखटिदा भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेका योजनाका कामहरु गुणस्तरहीन पाइएको हो । भद्रपुर ५, ६ र ८ सँग जोडिएको संगम चोकदेखि जनता चोकसम्मको इँटाजडित सडक नालाको काम धमाधम भइरहेको छ । भद्रपुर नगरपालिका कार्यालयले ठेक्का लगाएको सडक नाला निर्माण कार्य गुणस्तरहीन भइरहेको स्थानीयले नगरपालिकालाई जानकारी गराएका थिए । जानकारी पश्चात् नगरप्रमुख जीवनकुमार श्रेष्ठले सडक नाला भत्काउन लगाएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मेयरको घरमा बम” शीर्षकको समाचार छापिएको छ । इलामको माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । माई नगरपालिका २ दानाबारीमा रहेको मेयर थेबेको घरको कम्पाउण्डमा राखेको कुकर बम सोमबार बिहान ७ बजे बिहान घरपरिवारले देखेर प्रहरीलाई खबर गरेका थिए । झापाको चारहाआलीबाट आएको नेपाली सेनाको टोलीले साढे ११ बजेतिर बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट पइन्स्पेक्टर सन्तोष बुढाथोकीको नेतृत्वको टोली दानाबारी गएको थियो ।