औजार : आजको औजार दैनिकमा “राजनीतिक पार्टीलाई चुनाव चिन्ह प्रदान” शीर्षकको समाचार छापिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन माहौल धरान सहित देशका विभिन्न स्थानमा तातिरहेको बेला बिहीबार निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य र स्थानीय तह सदस्यको पदका लागि निर्वाचनदर्ता नभएका, एकीकरण भएका नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि दर्ता हुन भएका राजनीतिक दलहरुलाई आगामी मंसिर १४ गते हुने तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि चुनाव चिन्ह निर्धारणपछि प्रदान गरेको हो । आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “एक महिनामै उप्कियो कालोपत्रे” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङको फुङलिङ बजारको ताक्मेडाँडा हटियादेखि वुद्धचोक घुम्तीसडकको कालोपत्रे एक महिना नपुग्दै भत्किएको छ । ठेकेदारको लापरबाहीका कारण आठसय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे उप्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै भुक्तानी लगिसकेका छन् । भत्किएको देखि देखि सघन शहरी तथा भवन निर्माण आयोजना झापाले अनुगमन गरेर पास गरेको स्थानीयको गुनासो छ । मैनाचुली निर्माण कम्पनीले गत असारमा पिच र ढलान गरेको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “चोर पक्रन हानियो गोली” शीर्षकको समाचार छापिएको छ । जनकपुरको बीच बजारमा सटर फुटाएर चोरीकार्यमा संलग्न चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान करिब साढे ३ बजे जनकपुरधाम उपमहानगरपालिकाको कार्यलय अगाडि रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेका उनीहरुलाई घटनास्थलबाटै प्रहरीले पक्रेको हो । चोरहरुले सटर फुटाएर भित्र पसेको केही मिनेटमै प्रहरीको टोली त्यहाँ पुगेको थियो । जिल्लाको ग्रामीन क्षेत्रमा गस्तीमा निस्केको सादा पोसाकको प्रहरी टोली बिहान करिब साढे ३ बजे जनकपुर फर्केको थियो । भानुचोक र शिव चोकको बीचमा सडक सुनसान थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “अदालत अगाडि नाराबाजी” शीर्षकको समाचार छापिएको छ । जनप्रतिनिधिहरुको रोहबरमा भएको छलफलका क्रममा कुटपिटपछि मृत्यु भएको घटनामा फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै पीडित पक्षले बिहीबार मोरङ जिल्ला अदालत अगाडि दिनभर नाराबाजी र प्रदर्शन गरेका छन् । छोराले बिहे नगरेको भन्दै जनप्रतिनिधिहरुको रोहवरमा भएको छलफलका क्रममा कुटपिट हुँदा विराटनगर १४ का सेमानन्द यादवको मृत्यु भएको थियो ।