औजार : आजको औजार दैनिकमा “चौधरी ग्रुपको वाईवाई उद्योगलाई चेतावनी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको गढी गाउँपालिकासँग भएको सम्झौता कार्यान्वयन गर्न चौधरी ग्रुपको वाईवाई उद्योगलाई आग्रह गरेको छ । चौधरी ग्रुपको वाईवाई उद्योग सञ्चालनका लागि भएको सहमति कार्यान्वयन नगरेको भन्दै गढी गाउँपालिकाको कार्यालयले सम्झौता कार्यान्वयन आग्रह गरेको छ । चौधरी ग्रुपलाई सहमति कार्यान्वयनको लागि तीन दिने अल्टिमेटम दिएको उपाध्यक्ष राजकुमारी चौधरीले जानकारी दिए । गढी गाउँपालिका वडा नम्बर २ मा सञ्चालनमा रहेको चौधरी ग्रुपको वाईवाई सहितका उत्पादन गर्ने उद्योगले स्थानीय सरकारका रुपमा रहेका गाउँपालिकाको कार्यालयसँग भएको सम्झौता पालना नगरेकाले रुष्ट बनेको गाउँपालिकाले उद्योगलाई अल्टिमेटम दिदै अन्यथा कानूनी प्रकृया अघि बढाउने चेतावनी समेत दिएको छ । गाउँपालिकाले पूर्व सहमति विपरित आवेदन खुला नगरी आफुखुशी कर्मचारी भर्ना गरेको, जग्गादाता सहित स्थानीयहरुलाई रोजगारीमा प्राथमिकता नदिएको, बिना स्विकृती संरचना निर्माण गर्नुका साथै आपसी समन्वय कायम नगरी मनपरी गर्ने गरेको आरोप सहित तीन दिनभित्र सहमति कार्यान्वयन गर्न चेतावनी दिएको हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “झापा कारागारमा दाद रोगको महामारी” शीर्षकको समाचार छापिएको छ । एक महिनायता झापाको भद्रंपुरस्थित जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाहरुमा चिलाउने रोगको दादको महामारी फैलिएको छ । खचाखचरुपमा कैदी तथा थुनुवा बस्नुपर्ने बाध्यताले गर्दा यो महामारीको रुपमा फैलिएको पाइएको छ । ११ सयभन्दा बढी थुनुवा र कैदी रहेकामध्ये आधाभन्दा बढीमा दादको समस्या देखिएको कारागारले जनाएको छ । अधिकांशको गुप्ताङ्गलगायतका ठाउँमा दाद आएको स्वास्थ्यकर्मीको भनाइ छ । एक महिनायता फैलिएको महामारी नियन्त्रणमा आउन नसकेको जनाइएको छ । कारागारका सिनियर अहेब बलादेव साहका अनुसार ५ सय भन्दा बढीलाई औषधि तथा मलहम दिइएको छ । तर पनि दाद नियन्त्रणमा आउन नसकेको बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “व्यापारी अपहरण गर्ने जेल चलान” शीर्षकको समाचार छापिएको छ । व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले थप अनुसन्धानका लागि कारागार चलान गरेको हो । अपहरणमा संलग्न अभियुक्त विर्तामोड ४ मा मोटरसाईकलको रिकन्डिसन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम १ घर भई हाल विर्तामोड २ चारपाने बस्ने रितु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जुक्षेत्री भन्ने सुजन शंकर र विर्तामोड ४ का २५ वर्षीय प्रकाश दासलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । उनीहरुले विर्तामोडका एक व्यापारीलाई युवतीको प्रयोग गरी अपहरण गरेका थिए । अपहरण गरी नांगो भिडियो बनाएर ४० लाख फिरौती मागेका थिए । गत असार १ गते अपहरण गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले असोज ३ गते पक्राउ गरी संगठित अपराध मुद्दा चलाएको थियो ।