झापा: ईलाका प्रहरी कार्यालय दमक र दमक ट्राफिक प्रहरी कार्यालयले दशैं तिहारमा यात्रुलाई सजिलोको लागि सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने भएकाले पनि सवारी दुर्घटना न्यूनिकरण गर्नु यात्रु सहायता कक्ष स्थापनाको अर्काे उद्देश्य रहेको बताईएको छ । चाडपर्वका बेला यात्रुलार्ई हैरानी हुनसक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको ट्राफिक कार्यालय दमकका प्रमुख यज्ञ प्रसाद शर्माले जानकारी दिए । चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको शर्माले बताए ।

यातायात व्यवसायीले पनि यात्रु सहायता कक्षले चाडवाडका बेला यात्रुलाई समस्या नहुनेमा विश्वास ब्यक्त गरेका छन् । यातायात व्यवसायी गंगा सिटौलाले आफुहरुले पनि सवारी साधनका कर्मचारीलाई यात्रुसँग राम्रो व्यवहार गर्न र तोकिएको भाडादर मात्र लिन निर्देशन दिईसकिएको बताए । उनले भने,“यात्रुलाई सुरक्षित गन्तब्यसम्म पुर्याउन हाम्रा कर्मचारीहरु तल्लिन हुनेछन् । यस बर्ष कुनै यात्रुले पनि आफु ठगिए भन्ने दिन आउन नदिन हामी निगरानी बढाउछौं ।” उनले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध समेत गरे ।