धरान: बराह ग्रुपको रजत जयन्ती समारोहमा धरानका ८ जना अग्रज तथा सक्रिय युवा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
बराहले बर्षेनी बार्षिकोत्सवमा ३ जनालाई पुरस्कृत गर्दै आएकोमा यसपाली रजत जयन्ती अवसर पारेर ८ जनालाई सम्मान तथा पुरस्कार दिएको हो । इन्द्र बराह स्मृति पत्रकारिता सम्मानबाट अग्रज पत्रकार गंगा वराल सम्मानित भएकी छिन् । उनले नगद १६ हजार ५ सय ५५ सहित सम्मान पत्र पाइन् । यस्तै, इन्द्र बराह प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत रत्न प्रसाद आचार्य र गमबहादुर लम्जेल पुरस्कृत भए । दुवैले जनही १३ हजार ५ सय ५५ रुपैया पाए ।
यस्तै, रजत उत्सव पत्रकारिता सम्मानबाट भैरव आङ्ला, गोपाल दाहाल, सन्तोष काफ्ले जनही १३ हजार ५ सय ५५ रुपैयाले सम्मानित भए भने रजत उत्सव पकारिता प्रोत्साहन पुरस्कारबाट जनही १० हजार ५ सय ५५ रुपैयासहित भरतराज शर्मा गोपाल र विनय प्रधान पुरस्कृत भए । सोमबार धरान ८ स्थित सभागृहमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने, बिशिष्ट अतिथि एवं कृर्षि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश उपसभामुख सरस्वती पोखरेललगायतले उनीहरुलाई सम्मान गरेका थिए ।