झापा : विप्लव समूहले चियाको विषादी भन्दै आफन्तको घरमा पुर्याएको ठूलो परिणामको बारुद जन्य विस्फोटक पदार्थ प्रहरीले गोठको जमिनमुनि गाडेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको विस्फोटक पदार्थलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । अर्जुनधारा नगरपालिका १ स्थित सिस्नेबाट जमिनमुनि गाडेर राखिएको २०५ लोला २५ केजी निओजेल ९०० कडा क्षमताको नामक विस्फोटक पदार्थ जमिनमुनि गाडिएको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार विप्लव समूहका जिल्ला सेक्रेटरी प्रवीण मिश्र ‘मनिष’ को समूहले विस्फोटक पदार्थलाई चियाको विषादी भन्दै आफन्तको घरमा सुरक्षित राखी दिन त्यहाँ पुराएको अनुसन्धानबाट खुलेको छ । सेक्रेटरी मनिष पक्राउ परेको समाचार सुनेपछि आफन्तले नै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई शंकास्पद सामग्री बारे आइतबार दिउँसो जानकारी गराएका थिए । सोही सूचनाको आधारमा प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर विस्फोटक पदार्थ बरामद गरेका थिए ।