औजार : आजको औजार दैनिकमा “शुन्दरहरैचाँ बजार अनुगमन” शीर्षकको समाचार छापिएको छ । मोरङको सुन्दरहरैचाँ नगरपालिकामा बजार अनुगमन गरिएको छ । सुन्दरहरैचाँ नगर कार्यपालिकाको आयोजनामा र सुन्दर दुलारी उद्योग वाणिज्य संघ र कोशी हरैचाँ उद्योग वाणिज्य संघको सहयोगमा सुन्दरहैचाँ नगरपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरिएको छ । चाडपर्व लक्षित बजार अनुगमन सुन्दरहरैचा नगरपालिका भित्र व्यापार व्यवसाय गर्ने हरेक व्यवसायीहरुले नगरपालिकामा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको पाइएको सुन्दरहरैचाँ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले बताए । उनले सोबाट थालिएको बजार अनुगमन प्रभावकारी भएको भन्दै यो अनुगमन जनचेतना मुलुक भएको बताए । उनले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको कारण दास्रो चरण देखि व्यवसाय दर्ता प्रणालीमा कडाई गरि नगरको आय करमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विरामीको चाप व्यवस्थापन गर्न वीपी प्रतिष्ठान असफल” शीर्षकको समाचार छापिएको छ । मातृ तथा शिशु उपचार केन्द्र (एमसिएच) भवन निर्माण नभएसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक बढ्दो विरामीको चाप व्यवस्थापन गर्न नसकिने भएको छ । प्रतिष्ठानमा हुने विरामीको चाप व्यवस्थापन र तत्काल ल्याव रिपोर्ट उपलब्ध गराउन अनेक प्रयास भएपनि असफल हुँदै आएको छ । पूर्वको रिफरल सेन्टरको रुपमा विकसित भएको प्रतिष्ठानमा दैनिक ३ हजार बिरामी उपचारका लागि आउने गरेका छन् । तर अत्याधिक चापलाई प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा विरामीले सास्ती खेप्नुपरेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले भने, “प्रतिष्ठानमा विरामीको चाप नियन्त्रण गर्न तत्काल नसकिने भएको छ । एमसिएच भवन निर्माण सम्पन्न हुनासाथ विरामीको चाप स्वतः घट्छ । साथै ४० शैया क्षमताको इमर्जेन्सी कक्ष पनि विस्तार हुँदै गरेकोले त्यसबाट पनि भीड घट्छ ।” इमर्जेजेन्सी कक्ष विस्तार भइरहेपनि एकसिएच भवन भने २५ प्रतिशतमात्र निर्माण भएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “अध्यक्ष मृत्युमा इन्जिनियरलाई आरोप” शीर्षकको समाचार छापिएको छ । झापाको गौराहदह नगरपालिकाका इन्जिनियरका कारण उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको आरोप लगाउँदै गौराहदह ८ का स्थानीयले नगरपालिकामा प्रदर्शन गरेका हुन् । स्थानीय बेरौती बजार व्यवस्थापन समितिका अध्यक्ष धनवीर राजवंशीको नगरपालिकाका कारणले मृत्यु भएको स्थानियको आरोप छ । उनीहरुले राजवंशीको शव नगरपालिका परिसरमै राखेर नाराबाजी गरेका छन् । गौरादह नगरपालिका ८ स्थित भुडिसिमल बस्ने अन्दाजी ५८ वर्षीय धनवीर राजवंशीको उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । बुबाको मृत्यु नगरपालिकाका इन्जिनियष्रको कारण भएको छोरा सूर्य राजवंशीले आरोप लगाएका छन् । घटना विवरणअनुसार मृतक राजवंशी आइतबार दिउँसो १ बजे नगरपालिका भुक्तानीका लागि गएका थिए । भुडिसिमल बेरौती बजारस्थित टहरा निर्माण समितिका अध्यक्ष रहेका राजवंशी नगरपालिका इन्जिनियर सचिन क्षेत्रीलाई गएर भेटी इन्जिनियरले विभिन्न बहाना बनाउँदै कागजात नमिलेको भन्दै फर्काएका थिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “प्रदेश १ मा युवा नवप्रवर्तन केन्द्र स्थापना” शीर्षकको समाचार छापिएको छ । नवप्रवर्तनात्मक सोच भएका युवाको राष्ट्रव्यापी रुपमा खोजी गर्दै उनीहरुमा भएको प्रतिभा प्रस्फुटनको अवसर जुटाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश १ मा युवा नवप्रवर्तन केन्द्र स्थापना भएको छ । मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा सोमबार राष्ट्रिय युवा परिषद भक्तपुर, सामाजिक विकास मन्त्रालय प्रदेश १ र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीबीच त्रिपक्षीय सम्झौतासँगै केन्द्र स्थापना भएको हो ।