झापा : झापामा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-५ का ४२ वर्षीय शुक्रराज लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ६६७ नम्बरको बसले सोमबार राति साढे ९ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ का ३२ वर्षीय श्याम खड्कालाई नियन्त्रणमा लिएको छ ।