ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “तलब नपाएको भन्दै स्वास्थ्यकमीद्वारा सेवा ठप्प”  शीर्षकको समाचार छापिएको छ । तलब नपाएको भन्दै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । स्वास्थ्यकमीहरुको अवरोधका कारण बुधबार ओपीडी सेवा पूर्णरुपमा ठप्प बन्यो । करार र व्यवस्थापन समिति मातहतका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालको सेवा प्रभावित बन्न पुगेको हो । काम बन्द गरेका स्वास्थ्यकर्मीले तलबमा विभेद गरिएको बताएका छन् । ओपीडीसहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तृष्टि पोखेको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल जायज नहुने भन्दै कर्मचारीहरुलाई काममा फर्किन अस्पताल व्यवस्थापन समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष गोपाल राजभण्डारीले ठप्प पारिएको सेवा सुचारु गरी कर्मचारीहरुलाई काममा फर्कन आग्रह गरिएको बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “यौनहिंसाको निसानामा बालिका” शीर्षकको समाचार छापिएको छ । सुनसरीमा यौन अपराधका घटना ह्वातै बढेका छन् । त्यसमा पनि बालिकाहरु सबैभन्दा बढी पीडित बनेको तथ्यांक छ । सुनसरीमा पछिल्लो चार महिनाको अवधिमा १८ वटा जबरजस्ती करणीका घटना भएका छन् । जेठ महिनादेखि भदौ मसान्तसम्म भएका घटनामा ११ जना बालिकामाथि जबरजस्ती करणी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार तथ्यांक सार्वजनिक गरेको छ । यहाँ बर्सेनि जबरजस्ती करणीका घटना बढेको बढ्यै छन् । चार महिनामा भएका जबरजस्ती करणीका घटनामध्ये १० वर्षभन्दा कम उमेरका दुईजना बालिका पिडित भएका छन् । यस्तै, १० वर्षदेखि १४ वर्षका दुईजना, १४ वर्षदेखि १६ वर्ष उमेरका पाँच जना, १६ वर्षदेखि १८ वर्षका दुईजना र बाँकी सात जना १८ वर्षदेखि माथिको उमेरका पीडित भएका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “दुई महिनादेखि १६ वर्षीया युवती बेपत्ता” शीर्षकको समाचार छापिएको छ । २ महिना अघिदेखि सुनसरीको हरिनगरकी १६ वर्षीया एक युवती बेपत्ता भएकी छिन् । साउन २७ गतेदेखि हरिनगर गाउँपालिकाको वडा नम्बर ३ गौतमपुरबाट मजरुद्दिन अनसरीकी १६ वर्षीया छोरी नुजहत खातुन बेपत्ता भएकी हुन् । नुजहतको अपहरण भएको परिवारले दाबी गरेको छ । बेपत्ता युवतीका परिवारले सोही स्थान बस्ने महन्थी मेहता र उनका २१ वर्षीय छोरा पुन्केश्वर मेहताले अपहरण गरी बेपत्ता बनाएको भनी जिल्ला प्रहरी कार्यालय तथा शरीरबन्धकमा जाहेरी समेत दिएका छन् । बेपत्ता युवतीका बुबा मजरुद्दिन अन्सारीले साउन २७ गते राती महन्थी मेहता र उनका छोरा पुन्केश्वरले को २ च ९४२ नम्बरको स्कारपियो गाडिमा जबरजस्ती हालेर अपहरण गरेको बताएका छन् ।