ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “उदयपुरमा बलात्कारको घटना बढ्दो” शीर्षकको समाचार छापिएको छ । पछिल्लो समयमा आएर उदयपुरमा बलात्कारका घटना भयावह रुपले बढ्दै गएको छ । बालिका बलात्कारको कसुरमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका तीन वर्षको तथ्यांकले बलात्कार भयावह रुपले बढ्दै गएको देखाएको हो । प्रहरी सामु नपुगेका घटना छन् या छैनन् ? भए कति छन् ? कुनै निकाय वा कसैलाई थाहा छैन । तर प्रहरीमा मुद्दा दर्ता भएका बलात्कारका घटना भयावह देखिन्छ । प्रहरीमा दर्ता भएका तीन वर्षको तथ्यांकमा एक सय १० बलात्कारका घटनाका मुद्दा दर्ता भएको देखिएको छ । बलात्कारमा आफन्त, विरामी, अपांगता भएका, गर्भवती, ७ वर्षीया बालिकादेखि हजुरआमासम्ममा परेको तथ्यांकले देखाएको छ ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “दशैमा इटहरीमा कुहिएको मासु” शीर्षकको समाचार छापिएको छ । हिन्दु नेपालीहरुको महान् पर्व वडादशै सुरु भएसँगै इटहरीका मासु पसलमा अहिले उपभोक्ताहरुको घुइचो लाग्ने गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको भिड बढ्नु स्वाभाविकै हो । स्वस्थ मासु पाइन्छ भनेर बजारमा आएका उपभोक्ताहरु मासु व्यवसायीको लापरबाहीका कारण दैनिक ठगिने गरेको पाइएको छ । स्वस्थ मासु भन्दै व्यवसायीहरुले सडेको मासु भन्दै व्यवसायीहरुले सडेको मासु फ्रिजमा राखेर उपभोक्तालाई दिने गरेको प्रमाण इटहरीमा भेटिएको छ । इटहरी उपमहानगरले बुधबार र बिहीबार गरेको बजार अनुगमनमा मासु पसलमा हुने बेथितिहरु एकाएक बाहिर आएका हुन् । खसीको भन्दै बाख्राको मासु काटेर बेच्ने, मरेको खसी काटेर मासु फ्रिजमा राखेर बिक्री वितरण गर्ने जस्ता विकृति अनुगमनबाट फेला परेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पाँचथरमा लागुऔषध प्रयोगकर्ता बढ्दो” शीर्षकको समाचार छापिएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरमा लागुऔषधको प्रयोगकर्ता बढ्दै गएको पाइएको छ । कलिलो उमेरदेखि नै लागुपदार्थको नशामा फस्नेको संख्यामा बढोत्तरी भएर गइरहेको पाइएको छ । सदरमुकाम र आसपासका विभिन्न क्षेत्रमा प्रयोगकर्ताको संख्या बढ्दै गएको पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले न्यूनीकरणका लागि प्रयास थालेको छ । लागुऔषधसहित एकपछि अर्को गर्दै पक्राउ पर्नेक्रम बढ्दै गएको छ । पछिल्लो एक महिनाको अवधिमा लागुऔषधसहित १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।