औजार : आजको औजार दैनिकमा “इटहरीमा प्रचारमुखी अनुगमनः सडेको मासु बेच्नेलाई त्यसै छाडियो” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरपालिकाले असोज १३ देखि १६ गतेसम्म बजार अनुगमन सुरु गर्यो । १३ गतेकै अनुगमनमा सामानमा गुणस्तर नभएको, खाद्यपदार्थमा लेबलिंग नभएको लगायतको उपभोग्य समान समेत भेटेको थियो । उपमहानगरको नेतृत्वमा खटिएको उद्योग वाणिज्य संघ, पत्रकार समेत रहेको बजार अनुगमन टोलीले सुरु दिननै २३ ओटा पसलमा गरिएको अनुगमनमा अधिकांशमा कैफियत औल्याएको थियो । दशै अगाडी गरिएको ४ दिनको अनुगमनमा धेरै पसलमा कैफियत हुँदा समेत उपमहानगरपालिकाले कुनै पसललाई कारबाही भने गरेन । उपमहानगरपालिका गुणस्तरहिन समान बेच्ने, लेबलिंग नराख्ने व्यवसायीलाई सचेत गराउने काम मात्र गर्यो । अनुगमनको क्रममा भेटिएको गुणस्तरहिन समान बेच्ने व्यवसायीलाई इटहरी सरकारले हालसम्म कुनै पनि एक्सनमा गएको छैन् । १५ गते बुधबार उपमहानगरपालिकाको अनुगमन टोलीले सडेको मासु बेच्ने गरेको फेला पर्यो । धेरै मासु पसलमा सडेको मासु फेला पारेपनि अनुगमन टोलीले भने सचेत मात्र गरायो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बालविवाहले गाँजेको घारे” शीर्षकको समाचार छापिएको छ । उदयपुरको घारेमा ८० प्रतिशत बालविवाह हुने गरेको एक तथ्यांकले देखाएको छ । बेलका नगरपालिका ६ को घारेमा बाल तथा सम्बद्र्धन समितिले गत जेठ महिनामा गरेको एक स्थलगत सर्वेक्षणमा भयावह रुपमा बालविवाह हुने गरेको देखाएको हो । दुधकोशी किनारमा रहेको घारेमा बसोबास गर्दै आएका माझी समुदायमा अशिक्षा, बेरोजगारी, आर्थिक विपन्नताको कारण बालविवाह भयावह रहेको देखिएको छ । उक्त क्षेत्रमा ४० घर माझी समुदायका ५ सय ४३ जनसंख्या रहेको छ । त्यस क्षेत्रमा २०६९ सालमा जिल्ला बाल सरोकार उदयपुरले ६० प्रतिशत बालविवाह हुने जनाएको थियो । अहिले २० प्रतिशत बढेर ८० प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । गाउँको विद्यालयमा प्राथमिक तहसम्मको पठनपाठन भएपनि त्यसभन्दा माथिको शिक्षाको लागि घरबाट धाउने अवस्था नरहेकाले पढ्ने लेख्ने उमेरमा विवाह गरी आमा र बाबु बन्ने गरेको पाइएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “झापामा एकैदिन चार दुर्घटना” शीर्षकको समाचार छापिएको छ । चाडपर्व नजिकिएसँगै झापा जिल्लामा फेरि सवारी दुर्घटना बढेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने अभियानको थालनी गरेसँगै झापामा महिनादिनयता सवारी दुर्घटनामा कमी आएको थियो। तर, बडादशैं सुरु भएलगतै जिल्लामा सवारी दुर्घटना बढेको पाइएको हो । जिल्लाका विभिन्न स्थानमा बिहीबार मात्र चार स्थानमा सवारी दुर्घटना भएको प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार साँझ कनकाई नगरपालिका १ स्थित पूर्व(पश्चिम राजमार्गको जामुनखाडी चोकमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भयो । मृत्यु हुनेमा सुनसरी धरान उप महानगरपालिका १३ बस्ने १८ वर्षीय अजिब राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.३४प ७९०४ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक अजित राई, पछाडि सवार धरान उप महानगरपालिका १३ बस्ने २२ वर्षीय सविन राई र को.३३ प १०५० नम्बरको मोटरसाइकल चालक समेत घाइते भएका थिए । घाइतेमध्ये अजितलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। त्यस्तै अर्जुनधारा नगरपालिका ५ कैलाशघाट स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे.११प २२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ६०४० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मे.११प २२ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ८ बस्ने २५ वर्षीय केशव रसाइली र सोही नगरपालिका बस्ने २४ वर्षीय विकास खाती घाइते भएका छन्। दुवै जनाको बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उता कमल गाउँपालिका ६ पाडाजुङी–गौरीगञ्ज सडक खण्डको सोनापुरमा दुर्घटना हुँदा एक साइकलयात्री गम्भीर घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे.१ह २११९ नम्बरको अटोले साइकललाई ठक्कर दिँदा साइकलयात्री कमल ६ बस्ने ७६ वर्षीय कृष्ण प्रसाद पोखरेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते पोखरेलको अनुहार, मुख, छातीमा चोट लागेको अवस्था गम्भीर छ । झापामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। त्यसैगरी, मेचीनगर नगरपालिका १३ मेट्रो पेट्रोल पम्पस्थित पूर्व(पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २६४३ नम्बरको सुमो कारलाई सोही दिशाबाट आउँदै गरेको मे १० प २५५५ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक गौरादह नगरपालिका ६ बस्ने ३९ वर्षीय मोतिलाल बास्तोलाको दाहिने हात खुट्टामा गम्भीर चोट लागेको छ, भने सोही मोटरसाइकल पछाडि सवार सोही नगरपालिका बस्ने ३१ वर्षीय जित बहादुर बस्नेतको टाउको, हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको उपचार बिर्तामोडमा भइरहेको छ । सुमो कार चालक इलाम नगरपालिका ७ बस्ने ३४ वर्षीय अरुण तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “मोरङमा विप्लव समुहका नेता पक्राउ” शीर्षकको समाचार छापिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी पक्राउ परेका छन् । विप्लव समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा बिहीबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार खतिवडालाई विष्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनी माथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ । विराटनगरबाट फर्कदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।