उदयपुर: उदयपुर र सोलुखुम्बुमा भएको दुर्घटनामा परी २ शनिबार राती २ जनाले ज्यान गुमाएका छन् भने ९ जना घाइते भएका छन् ।
उदयपुरको कटारी नगरपालिका २ गुरासस्थित सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो । घटना शनिबार साँझ पौने ५ बजेको समयमा भएको हो । ओखलढुङगाबाट धरानतर्फ जादै गरेको को १ ज ३४०० नम्बरको सुमो गाडीले बिपरीत दिशाबाट आईरहेको ज ५ प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

सुमोको ठक्करबाट मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका ९ लदाहभिरका अन्दाजी ३४ बर्षीय रूपेन कुमर गम्भिर घाईते भएका थिए । घाइते कुमरको मिर्चैया अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी धरानतर्फ लैजाने क्रममा साँझ सवा ७ बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस, बस चालकलाई प्रहरी चौकी बेलसोतले नियन्त्रणमा लिएको छ ।
यसैगरि, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ बरडाडाँस्थित भित्रि सडक खण्डमा बाटो माथीबाट बलेरो खस्दा चालकको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन । शनिबार राती सवा ११ बजे सोलु सल्लेरीबाट नेचातर्फ जाँदै गरेको बा १५ च ९४२० नम्बरको बलेरो अचानक अनियन्त्रीत भई बाटो माथिबाट खसेको थियो । काठमाण्डौबाट नेचा सल्यान आउदै गरेको ना १ ज ५३४२ नम्बरको सुमो माथि बलेरो खप्टन गई दुर्घटना भएको थियो । दुर्घटनामा परेर बलेरो चालक सोलुको नेचासल्यान गाउँपालिका २ का २१ बर्षीय लेखबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो ।
सुमो चालक सोही गाउँपालिका १ का २६ बर्षीय पासाङकाजि शेर्पा, बर्ष २७ का मोहन बस्नेत, उनको श्रीमती बर्ष २८ की रिया बस्नेत, निजको छोरा बर्ष ७ को रियाज बस्नेत, बर्ष २४ की रुषा बस्नेत घाइते भएका छन् । यस्तै, सोही गाउँपालिका २ का २५ बर्षीय रमना राई, २६ बर्षीय गिता बस्नेत, निजको छोरा ७ बर्षीय आयुष बस्नेत र रामेछाप जिल्लाको रामेछाप नगरपालिका ६ का २४ बर्षीय गजेन्द्र लामा सामान्य घाईते भएका छन् । सबै घाइते यात्रुहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेकोछ भने बलेरो चालकका मृतक लेख बहादुर खड्काको कानूनी प्रकृया पुरा गरेर शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।