बिराटनगर: झापा र ईलामको २ छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका १ का नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई बुधवार दिउँसो पौने १ बजे घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । डुबेको अवस्थामा उद्दार गरेर तत्काल उपचारको लागि लाईफ लाईन अस्पताल दमक पुर्याइए पनि उनको उपचारको क्रममा सवा १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यसैगरी, ईलामको माई नगरपालिका ५ रमितेका जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार बिहान १० बजेको समयमा आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर बालिका घाईते भएकी थिइन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।