ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विराटनगरमा औषधिको परिमाण बढाएर ठगी” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को राजधानी रहेको शहर विराटनगर महानगरपालिकाभित्रका ठूला अस्पताल वरिपरिका फार्मेसीमा सञ्चालकको निर्देशनमा विरामीले खरिद गरेको औषधिमा ठगी हुने गरेको कर्तुत बाहिरिएको छ । विराटनगर ९ जहदा रोडस्थित न्यूरो हस्पिटल अगाडिको “साक्ष्ी मेडिकल हल” का सञ्चालकहरुको निर्देशनमा काम गर्ने श्रमिकले औषधिको परिमाण बढाएर ठगी गर्ने गरेको पाइएको हो । वडा प्रहरी कार्यालय विराटनगर क ले साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिकाको १९ वर्षीय सन्तोष मेहतालाई विरामीलाई दिएको औषधिको परिमाण बढाएर ठगी गरेको आरोपमा आइतबार पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । साक्षी मेडिकल हलका सञ्चालकद्धय सप्तरी घर भई विराटनगर बस्दै आएका चन्द्रशेखर यादव र निरञ्जन शाक्यको निर्देशनमा उक्त पसलमा काम गर्नेहरुले विरामीलाई दिएको औषधिको परिमाण बढाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “रेडपाण्डा जोगाउन समुदायमा आधारित कार्यक्रम” शीर्षकको समाचार छापिएको छ । रेडपाण्डाका लागि प्रदेश १ चर्चित छ । सबैलाई आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डाको संरक्षणमा पछिल्लो समय चासो बढ्दै गएको छ । लजालु जातको वन्यजन्तुमा पर्ने रेडपाण्डाको महत्व र संरक्षणबारे समुदायस्तरमा बुझाउँदै जान थालिएको छ । संकटापन्न वन्यजन्तुका रुपमा रहेको रेडपाण्डाबारे विशेषतः पूर्वका पाँचथर, ताप्लेजुङ र इलाममा चासो तथा चर्चा बढ्दै गएको छ । रेडपाण्डा पाइने क्षेत्रका बासिन्दा पनि यसको बासस्थान, महत्व र संरक्षणबारे सचेत सचेत बन्दै गएको देखिन्छ । इलाममा सम्पन्न साहित्य महोत्सवको पर्यटकको आयाम सवालको अन्र्तक्रियामा पनि रेडपाण्डाको विषयले महत्व पायो । त्यहाँ प्रदेश १ को पहिचानका रुपमा त्यसको विकासमा जोड दिनुपर्ने आवाज उठाइएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “तमोर जलाशयमा चिनियाँ कम्पनी” शीर्षकको समाचार छापिएको छ । लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइनालाई दिएको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको सयममा लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको चिनियाँ कम्पनीलाई आयोजना जिम्मा लगाएको हो । बोर्डबाट पत्र प्राप्त भएलगत्तै पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग आयोजना कार्यान्यवन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । गत साउनमा बोर्डले यो आयोजनाको लागि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग प्रस्ताव माग्ने निर्णय गरेको थियो । अन्तिम चरणमा छानिएका कम्पनीबाट आएका प्रस्ताव मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन पनि गरिएको थियो । सोही कमिटिको सिफारिस अनुसार कम्पनी छानिएको हो । समझदारीपत्रमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेल र पावर चााइनाका चतर्फबाट उपध्यक्ष पान देङ युले हस्तक्षर गरे ।