औजार : आजको औजार दैनिकमा “अझै पनि होटलमै छुवाछुत” शीर्षकको समाचार छापिएको छ ।होटलमा सानो जाति भनेर चिया खान नदिने विरुद्ध पिडितले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ४ बस्ने ६० वर्षीया डिमोने कामीले सोही नपा ४ नम्बर वडाका ६५ वर्षीया रुद्रबहादुर कटुवाल र ९ नम्बर वडाका ४५ वर्षीया टलबहादुर पाण्डे विरुद्ध सार्वजनिक होटलमा बसेर चिया खान नदिएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । पीडित डिमोने कामीले आफुलाई सार्वजनिक स्थलमा जातिय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कानुनी कार्बाह ीगर्न माग गरेका छन् । ईलाका प्रहरी कार्यालय पथरीमा दर्ता भएको जाहेरी अनुसार २० असोज दिउँसो पथरी शनिश्चरे ९ स्थित शनिश्चरे बजारमा रहेको टलक बहादुर पाण्डेको चिया पसलमा डिमोने कामी चिया पिउन गएका थिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बिना भन्सार खसीबोका तस्करी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको भण्टाबारी नाकाबाट गैरकानुनी रुपमा खसीबोकाको तस्करी हुने गरेको पाइएको छ । भारतबाट चराउने बहानामा नेपाल भित्र्याउने र बसको डिक्कीमा लोड गरेर पूर्वका विभिन्न स्थानसम्म पुर्याउने गरेको पाइएको हो । यसैक्रममा क्वारेन्टाइन र भन्सारसमेत नकटाई भण्टाबारीबाट पूर्वतर्फ लैजादै गर्दा सुनसरी प्रहरीले इनरुवाबाट १४ वटा खसीबोका नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरले १४ वटा खसीबोका नियन्त्रणमा लिई सुनसरी भन्सार कार्यालय सेतुबन्धु कोशी ब्यारेजमा १ लाख ८२ हजार मुल्यांकण गरी पठाएकोमा खुला प्रतिस्पर्धाबाट २ लाख ७ हजारमा लिलाम भएको सुनसरी भन्सार कार्यालय सेतुबन्धु कोशी ब्यारेजले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “विकासे काममा समन्वय नहुँदा समस्या” शीर्षकको समाचार छापिएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच आपसी तालमेल नभै विकास निर्माणको काम गर्दा त्यस्ता कामले सुविधा भन्दा पनि समस्या सिर्जन ागर्ने गरेको पाइएको छ । त्यसको ज्वलन्त उदाहरणका रुपमा रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक मार्गलाई लिन सकिन्छ । सो मार्ग निर्माणले सुविधा भन्दा समस्या निम्त्याउने देखिएको छ । स्थानीय तहसँग समन्वय नै नगरिकन सडकको डिजाइन गरी ठेक्का लगाइएकाले त्यसबाट विभिन्न समस्या देखिएको हो । विराटनगर महानगरपालिका कार्यकारी प्रमुख एकदेव अधिकारीका अनुसार बिना समन्वय संघीय सरकारले सडक निर्माण गराउँदा विभिन्न समस्याहरु आएका हुन् ।