इटहरी :इटहरी उपमहानगरपालिकामा एक भाईले आफ्नै दिदीमाथि खुकुरी प्रहार गरेका छन् । दिदीलाई खुकुरी प्रहार गरेपछि भाईले आफै पनि आत्महत्या गर्ने प्रयास गरेका छन् ।

इटहरी १९ का २६ बर्षीय उदिप राईले आफ्नै दिदीमाथि खुकुरी प्रहार गरेका हुन् । भाईको आक्रमणबाट ३१ बर्षीय दिदी मिनु घाइते भएका छन् । आज मंगलबार दिउँसो करिब २ बजे उदिपले दिदी मिनुमाथि खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले जानकारी दिए । मानसिक रोगी भनिएका उदिपले दिदीलाई पछाडि गर्धनमा कुखुरी प्रहार गरेका थिए । दिदीलाई प्रहार गरेपछि आफैले पनि घाँटी रेटेर आत्महत्या प्रयास गरेका थिए ।

गम्भीर घाइते दुवैलाई तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ लगिएको थियो । घाँटी सेरिएको हुनाले भाई उदिपको अवस्था गम्भीर थियो । उनको आकस्मिक कक्षमा नै शल्यक्रिया गरेर आइसियुमा राखिएको प्रतिष्ठानले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।