ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धनकुटामा कर तिर्नेको घुइँचो” शीर्षकको समाचार छापिएको छ । केहीदिन यतादेखि करदाता सेवा कार्यालय धनकुटामा विभिन्न शीर्षकमा कर तिर्ने सेवाग्राही करदाताहरुको घुइँचो लागेको छ । आ.व. ०७५,७६ को आयकर शुल्कलगायत अन्य कर बुझाउने समय चालू आर्थिक वर्षको असोज मसान्तसम्म मात्र भएका कारण करदाताहरुको सेवा कार्यालय धनकुटामा दशैंलगत्तै अत्यधिक मात्रामा घुइँचो लागेको हो । सोमबार र मङ्गलबार कर तिर्न करदाता सेवा कार्यालय धनकुटा पुगेका अधिकांश करदाताले तिर्न धेरै झन्झटिलो भएको प्रतिक्रिया दिएका छन् ।

औजार : आजको औजार दैनिकमा “संखुवासभाबाट पाँच किलो सुनसहित एक पक्राउ” शीर्षकको समाचार छापिएको छ । संखुवासभाको भोटखोला गाउँपालिकाबाट २ किलोग्राम सुनसहित एकmजना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका गाउँपालिका २ लिङगमबाट खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाई छ । भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको बताइएको छ । तर, पक्राउ परेका भोटे र सुनको बारेमा संखुवासभा प्रहरी केही बोल्न चाहेको छैन ।

उद्घोष : आजको उद्घोष दैनिकमा “जनता आवासमा विवाद” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपािलकाको वडा नं. १९ मा जनता आवास कार्यक्रम अन्तर्गत बनिरहेका घर निर्माणमा विवाद उत्पन्न भएपछि काम रोकिएको छ । सो वडाको मुसहर बस्तीमा घर निर्माण मैरहेकोमा विराटनगर ३ पुरुपलाल चोक निवासी युवराज खतिवडाले आफ्नो नम्बरी आवादीमा घर निर्माण भएको भन्ने दावी गर्दै १९ नम्बर वडामा निवेदन दिएपछि काम रोकिएको हो । करिब ९ करोडमा विराटनगर महानगरपालिका, ह्युम्यानिटी फर ह्याविट्याट, सहारा नेपाल र जीवन विकास समाजले संयुक्त रुपमा जनता आवास कार्यक्रमको थालनी गरेका हुन् ।