ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश एकमा बाह्य पर्यटकको खडेरी” शीर्षकको समाचार छापिएको छ । पर्यटन वर्ष सन् २०२० को शुभारम्भ हुन अब २ महिना मात्र बाँकी छ । सरकारले यसवर्ष नेपालमा लाखौं पर्यटक भित्र्याउने लक्ष्य लिएपनि प्रचारप्रसारको अभावमा प्रदेश १ भने ओझेलमा परेको छ । पर्यटन वर्ष तामझामका साथ मनाउने तयारी गरिरहँदा १ नम्बर प्रदेशमा भने बाह्य पर्यटकको खडेरी लागेको छ । प्रदेश १ मा धार्मिक तीर्थस्थल तथा पर्यटकीय स्थलहरु धेरै भएपनि आन्तरिक पर्यटकबाहेक बाह्य पर्यटकहरु कमै मात्र आउने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् । आन्तरिक र बाह्य पर्यटकहरु अन्य महत्वपूर्ण ठाउँहरुको प्रचार प्रसार अभावका कारण पनि तेस्रो मुलुक तथा नेपालकै अन्य प्रदेशका पर्यटकहरु नआएको भन्दै पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् ।

औजार : आजको औजार दैनिकमा “इनरुवा अस्पतालको फोहोर उठ्न थाल्यो” शीर्षकको समाचार छापिएको छ । सुनसरीकै पुरानो अस्पतालको लिस्टमा पर्छ, सदरमुकामको इनरुवा अस्पताल । सुनसरीका ग्रामीण क्षेत्रका जनताको उपचार गराउने अस्पताल अहिले आफै विरामीको स्थितिमा छ । अस्पताल जन्य फोहोरले इनरुवा अस्पतालमा अहिले खालि ठाउँ छैन । लामो समयदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा अस्पताल अहिले अस्तव्यस्त छ । इनरुवा अस्पतालबाट उत्पन्न हुने संक्रमण जन्य फोहोरहरु अस्पताल परिसरमै छन् । एकमहिनाभन्दा बढी समय देखि फोहोर नउठ्दा दुर्गन्धित त बनाएको छ, सेवा लिन आउने विरामीहरु समेत संक्रमित बन्ने खतरा छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पूर्व प्रेमीबाटै आमाछोरीको हत्या” शीर्षकको समाचार छापिएको छ । गत शनिबार राति उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीमा हत्या गरिएकी २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ६ वर्षीया छोरी रचनाकुमारीको शारदाकै पूर्वप्रेमीले हत्या गरेको खुलेको छ । उदयपुर प्रह रीले हत्यामा संलग्न रहेका सिरहाको लहान नगरपालिका८ घरभई त्रियुगा नगरपालिका ३ मोतिगडामा बस्दै आएका ४० वर्षीय रामहरि शाहलाई हत्या आरोपमा सार्वजनिक गरेको हो । शाहले लामो प्रेम सम्बन्ध रहेकी शारदाले आफुसँग विवाह नगरेका कारण हत्या गरेको प्रहरीलाई बयान दिएका हुन् ।