ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मोरङको केराबारीमा बुहारीको विहे” शीर्षकको समाचार छापिएको छ । मोरङको केराबारी गाउँपालिका ९ भलुवामा बुहारीको विवाह गरिदिएर सासूससुराले उदाहरणीय कार्य गरेका छन् । स्थानीय कुवेरप्रसाद पोख्रेलले आफ्नै बुहारीको विहे गरिदिएर उदाहरणीय कार्य गरेका हुन् । २०६७ सालदेखि एकल रुपमा रहेकी बुहारीको विहे गरिदिएर उनी अहिले गाउँभरि प्रशंसाको पात्र बनेका छन् । एक्ला छोरा पूण्यप्रसादको २०६७ असार १४ गते अल्पायुमै निधन भएपछि बुहारी सुनिता एकल महिला बनेकी थिइन् । उनलाई छोरीकै दर्जा दिएर विहे गरिदिएका हुन् । सुनिताले चाहेको दुलाहासँग विहे गरिदिएका छन् । दशवर्ष अगाडि एकल बनेकी सुनिताका सासु ससुराले गाउँका भद्रभलाद्मीको अगुवाईमा विहीबार विहे गरिदिएका थिए । सुनिताको झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विवाह गरिदिएका छन् ।

औजार : आजको औजार दैनिकमा “मदिराको बोतलले भरियो इनरुवा अस्पताल” शीर्षकको समाचार छापिएको छ । सामान्यतया अस्पतालमा उपचारसँग सम्बन्धित फोहोर भेटिने गर्छ । प्रयोग भएका सिरिन्ज, औषधिका खोल र कार्टुन लगायतका अस्पतालजन्य सामाग्री भेटिनुपर्ने हो । तर सुनसरी सदरमुकामको इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्गुरमा रक्सीका बोतल भेटिएका छन् । लामो समयसम्म अस्पताल प्रशासनले फोहोर व्यवस्थापन गरेको थिए। फोहोरका कारण अस्पताल छिर्नै नसक्ने अवस्था आएपछि स्थानीयको अग्रसरतामा सफाइ गर्दा ठूलो परिमाणमा रक्सीका बोत्तल भेटिएका हुन् । फोहोर नउठ्दा अस्पताल क्षेत्र नै दुर्ग्न्धित थियो । बिरामीको रगतलगायतका उपचारमा प्रयोग सामाग्री अस्पताल परिसरमै फ्यालिएको थियो । फोहोरकै कारण विरामी थप संक्रमित बन्ने जोखिम बढ्दै गएपछि सामाजिक अभियन्ता दिनेश लम्साल, राकेश निरौला, सुशान्त बस्नेतका लगायतका अगुवा युवाहरुले अस्पतालमा थुप्रिएको संक्रमित जोखिमपूर्ण फोहोर संकलन गर्दा रक्सीका बोतल भेटिएका हुन् । फोहोर उठाएर ट्याक्टरमा हाल्ने क्रममा बियरसहितका मदिराका बोत्तल पनि भेटिएका हुन् । अस्पतालको फोहोरमा मात्रै होइन, अस्पतालको छतमा समेत सयौँ बियर, वाइन र भोड्काका खाली बोत्तल भेटिएका छन् । बोत्तलहरु हेर्दा अस्पताल कर्मचारीले बेलाबेलामा ठूलै मदिराको पार्टी गर्ने गरेको अभियान्ताहरु बताउँछन् । स्थनीयबासीले फोहोर उठाइरहँदा अस्पताल प्रमुख बीना शाक्यसहित अस्पतालका चिकित्सक, प्रशासनका कर्मचारी परैबाट दर्शक बनेका थिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “दुहबी-कटहरी प्रशारण लाइनमा कुलमान र सांसद मोदी सहमत” शीर्षकको समाचार छापिएको छ । दुहवी - कटहरी ३३ केभी विधुत प्रसारण लाइनमा लामो समयदेखि अवरोध छ । खासगरी मोरङको गिधनियामा स्थानीयले तीन किलोमिटर काम अघि नबढाउन अवरोध गरिरहेका छन् । यो अवरोध मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद अमनलाल मोदी विवादमा तानिए । मोदी र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच आरोपप्रत्यारोप नै चल्यो । तर, यो विवाद सुल्झाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निरन्तर प्रयास गरे । अन्ततः मुख्यमन्त्री राईकै पहलमा घिसिङ र मोदी एउटै टेबलमा बसे । छलफल चल्यो अनि सहमति भयो प्रशारण लाइन अघि बढाउने ।